कति सुरक्षित छ, हामीले प्रयोग गर्ने ट्वीटर?

काठमाडौं। ट्वीटरका पूर्व सुरक्षा प्रमुख पिटर जाटकोले अमेरिकी कांग्रेसलाई भर्खरै बताएका छन्– चिनियाँ जासुस ट्वीटरमा कर्मचारीको रूपमा जागिर खाएर जासुसी गरिरहेका छन्। 

जाटकोले भारतको विषयमा पनि अर्को संवेदनशील कुरा सार्वजनिक गरेका छन्। भारतीयहरूको जानकारी जुटाउन जानीबुझी भारतीयलाई जासुसीका लागि आफ्नो कम्पनीमा भर्ती गरिएको उनले बताएका छन्।   

केही दिनअघि ट्वीटरका एक कर्मचारीविरूद्ध साउदी अरबका लागि जासुसी गरेको आरोप प्रमाणित भएको थियो। 

साइबर सुरक्षा विश्लेषकको रूपमा पिटर जाटकोले ट्वीटरको भित्री पाटो केही समयअघि मात्र उजागर गरेका थिए। मंगलबार उनी अमेरिकी सांसदको न्यायीक समितिको अगाडि प्रस्तुत भए। उनले थुप्रै सनसनीपूर्ण कुरा सार्वजनिक गरेका छन्। उनले भनेका छन्, सोसल मिडिया ट्वीटरको साइबर सुरक्षा नीति निकै फितलो छ। त्यसैले अहिलेका युवापिढी, चोर तथा जासुसहरूलाई आफ्नो फाइदाका लागि ट्वीटर प्रयोग गर्न अत्यन्त सजिलो भएको छ। 

जाटकोले न्यायीक समिति अगाडि भने्, ‘म आज किन यहाँ उभिएको छु भने, ट्वीटरको नेतृत्वले जनता, नेता तथा नियामक बाहेक पनि आफ्नै बोर्डलाई अध्यारोमा राखिरहेको छ।’

twitter1

ट्वीटरलाई आफूसँग भएको तथ्यांकको विषयमा कुनै जानकारी छैन। न उसले सुरक्षाको ग्यारेन्टी नै गरेको जाटकोको आरोप छ। 
उनी भन्छन्, ‘यदी ताल्चै छैन भने, चाबी कोसँग छ, यसले के फरक पार्छ।’ 

ट्वीटरले आफ्नो स्पष्टीकरणमा कर्मचारी भर्तीको विषयमा भनेको थियो, ‘हामी विदेशी प्रभावबाट मुक्त छौं र तथ्यांकसम्म पहुँचको अधिकार विभिन्न उपायबाट तय गरिएको हुन्छ।’

ट्वीटरले यी उपायमा पृष्ठभूमिको छानवीनदेखि तथ्यांक(डेटा) अधिकारमाथि नियन्त्रण तथा व्यवस्थापन र प्रक्रियाको अवलोकनसम्म समावेश भएको बताएको थियो। 

को हुन पिटर जाटको?

पिटर जाटको ट्वीटरका सुरक्षा प्रमुख थिए। यही वर्षको सुरुमा उनलाई जागिरबाट बर्खास्त गरिएको थियो। गत जुलाईमा उनले अमेरिकी संसदमा ट्वीटरको सुरक्षालाई लिएर एउटा निवेदन दर्ता गरेका थिए। उनले यो निवेदन न्यायीक समिति, संघीय व्यापार आयोग र सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनमा पनि दर्ता गराएका थिए।

 

५१ वर्षीय जाटको चर्चित अनुहार पनि हुन्। उनी त्यति बेला चर्चामा आएका थिए, जब सन् १९९० को दशकमा उनले ‘इथिकल ह्याकिङ’ आन्दोलनको अगुवाई गरे। उनले अमेरिकी रक्षा मन्त्रालय बाहेक गुगलमा पनि काम गरिसकेका छन्। २०२० मा तत्कालीन ट्वीटर सीइओ ज्याक डोर्सीले उनलाई ट्वीटरमा समावेश गराएका थिए। 

जाटकोले ट्वीटरमाथि थुप्रै संवेदनशील अरोप लगाएका छन्। जसमा सुरक्षा मापदण्डको विषयमा झुटो बोलेको आरोप छ। जाटकोले भनेका छन्, ‘ट्वीटरले झुटो दावी गरेको छ। उसले आफ्नो ग्राहकको निजी तथा सुरक्षासँग सम्बन्धित कुरा चुइन नदिन बलियो उपाय खोजी गरेको बताएको थियो। तर, उसले यसको उल्लंघन पटक–पटक गरेको छ।’

ट्वीटरले ग्राहकको निजी तथा सुरक्षा सम्बन्धी कुरा चुइन नदिन बलियो सयन्त्र तयार पारेको दावी २०११ मा गरेको थियो।  

अमेरिकाका लागि खतरा

अमेरिकी सांसदको न्यायीक समितिमा ट्वीटरमाथि लगाइएको आरोपको बहस भइरहेको छ। जसको अध्यक्षता इलिनोईका डेमोक्र्याट सांसद डिक डरबिनले गरिरहेका छन्। उनले भनेका छन्, जाटकोले ट्वीटरको कमजोरी सविस्तार सम्झाएका छन् र

यसले करोडौं ग्राहक र अमेरिकी लोकतन्त्रका लागि खतरा हुनसक्ने तर्फ सचेत गराएका छन्। 

डरबिन भन्छन्, ‘ट्वीटर निकै प्रभावशाली मञ्च हो। त्यसैले यसमा कमजोरी देखापर्नु सबैका लागि महंगो सावित हुनसक्छ।’

जाटकोले आफ्नो बयानमा भनेका छन्– ग्राहकहरूलाई थाहा नै छैन, उनीहरूको संवेदनशील जानकारी ट्वीटरसँग छ। उनले भनेका छन्, कुनै बेला त ट्वीटरलाई पनि महसुस हुँदैन कि, ग्राहकको कति जानकारी उनीहरूसँग छ भन्ने कुरा। उनले ट्वीटरको मुलभूत समस्या व्यवस्थापकीय कमजोरीलाई औल्याएका छन्। तर, यसलाई ठिक गर्ने सन्दर्भमा कम्पनी चुकेको पनि उनको आरोप छ। 

जाटकोले मानिसको निजी अधिकार हननको मुद्धालाई रोक्ने सन्दर्भमा युरोपेली एजेन्सीभन्दा अमेरिकी एजेन्सी कमजोर देखिएको पनि बताएका छन्। उनको आरोप पनि छ, ट्वीटर ती देशको सरकारसँग सम्झौंता गरिरहेको छ, जसले जासुसीका लागि कम्पनीमा आफ्नो मान्छे भर्ती गराएका छन्। र, कम्पनीले यो जानकारी पनि राखेको छैन, भर्ती भएका ती जासुसले कुन सूचनामा पहुँच बनाइरहेका छन्। 

जाटकोले भनेका छन्, ‘भारत सरकारले गोप्य कुरा प्राप्त गर्न एक विदेशी जासुसलाई ट्वीटरमा भर्ती गराएको थियो।’ 

उनले जागिरबाट बर्खास्त हुनुभन्दा एक साताअघि चिनियाँ राष्ट्रिय सुरक्षा मन्त्रालयको एउटा जासुस ट्वीटरबाट तलब पाउने गरि नियुक्त भएको सार्वजनिक गरेका थिए। भारत र ट्वीटरबीच लामो समयदेखि जुहारी चलिरहेको छ। भारतले देश विरोधी तथा सरकार विरोधी व्यक्तिको ट्वीटर अकाउन्ट बन्द गर्न कम्पनीलाई दबाब दिँदै आएको छ। 

–रोयटर्स
 

प्रतिक्रिया