सन्दीप क्यानको सम्पर्कमा, निर्दोष भएको जिकिर 

काठमाडौैं। वेष्ट इन्डिजमा सीपीएल खेल्न गएका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेमाथि नाबालिक किशोरीलाई बलात्कार आरोप लागेपछि उनले आफू निर्दोष भएको बताएका छन्। सन्दीप हाल नियमित नेपाल क्रिकेट संघ (क्यान) पदाधिकारीसँग सम्पर्कमा छन् भने क्यानका कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले यसको जानकारी दिएका हुन्। 

उनले भने, ‘मसँगको कुराकानीमा उसले बलात्कारको आरोप अस्विकार गरेको छ।’

सन्दीपविरूद्ध मंगलबार एक किशोरीले बलात्कारको आरोपसहित नेपाली प्रहरीसमक्ष उजुरी दर्ता गरेकी थिइन। उनले ५ भदौंको राती सिनामंगलको एउटा होटलमा लगेर आफूलाई पटक–पटक बलात्कार गरेको आरोप लगाएकी थिइन। 

क्यारेवियन प्रिमियर लिग खेल्न व्यस्त सन्दीपले नेपाल प्रहरीको अनुसन्धानमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको महासचिव मल्लले जानकारी दिए। ‘उसले लिग सकेर नेपाल फर्किने र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।’
 
सन्दीपले कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा व्यक्त गरेका छन् । ‘उसले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको छ,’ मल्लले भने। 

सन्दीपविरूद्ध उजुरी परेपछि महानगरीय प्रहरी प्रभाग गौशाला वृत्तले सिनामंगलको होटलमा रहेको सीसीटिभी फुटेजमा उजुरी दर्ता गर्ने किशोरी र सन्दीप राती ११ बजेर ५५ मिनेटमा होटलमा पुगेको र ७ घण्टापछि सन्दीप बाहिर निस्किएको बताएको छ। 
 


 

प्रतिक्रिया