इरानमा समलैंगिकताका कारण २ महिलालाई मृत्युदण्ड

काठमाडौं। इरानको एक अदालतले समलैंगिकताको बृद्धिमा योगदान गरेको भन्दै दुई समलैंगिक अधिकारकर्मीलाई मृत्युदण्डको सजाय सुनाएको छ। मृत्युदण्डको सजाय सुनाइएका अधिकारकर्मीले आफूमाथि घोषित सजायलाई निस्क्रिय पार्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन्। उनीहरूले इरान सरकारलाई दबाब दिन आग्रह गरेका हुन्। 

हेङ्गा कुर्द अधिकार संगठनले भनेको छ, ३१ वर्षीइ जहरा सदिगी हमिदानी र २४ वर्षीय इल्हाम चुबदारलाई उत्तर पश्चिमी शहर उर्मियाको एउटा अदालतमा मृत्युदण्डको सजाय सुनाइएको हो। दुवै महिलालाई ‘पृथ्वीमा भ्रष्टाचार फैलाइएको’ मा अदालतले आरोपी ठहर गरेको हो। यो आरोप इरानको सरिया कानुनको उल्लंघन गर्ने व्यक्तिलाई लगाइने गरिन्छ। 

दुवै महिलालाई उर्मिया जेलको महिला शाखामा नजरबन्द गर्ने क्रममा सजाय सुनाइएको हो। एक संक्षिप्त बयानमा इरानको न्यायपालिकाले सजाय पुष्टी गरेको छ। 

अधिकार संगठन हेङ्गाले भनेको छ, दण्ड सुनाइएका महिलालाई इसाई धर्म फैलाएको र इरानको शाषन व्यवस्थाको विरोध गर्ने मिडियासँग कुराकानी गरेको आरोप लगाइएको छ। 

उर्मिया जेलमै रहेकी ५२ वर्षीय अर्की महिला सोहेला असरफीलाई पनि यही विषयमा गिरफ्तार गरिएको थियो तर उनलाई सजाय सुनाइएको छैन। उनलाई पनि सजाय सुनाउने सम्भावना प्रबल छ। 

सदिगी हमिदानीको भविस्यलाई लिएर महिनौंदेखि चिन्ता व्यक्त गरिएको थियो। हमिदानी इरानमा साराको नामले पनि परिचित छिन्। उनी इरानमा एलजीबीटीक्यूको प्रमुख कार्यकर्ता मानिन्छिन्। 

उनलाई गत वर्ष अक्टुबरमा इरानी सुरक्षा बलले इराकको कुर्दिस्तानबाट इरान फर्किने क्रममा पक्राउ गरेको थियो। उनीमाथि टर्की भाग्ने प्रयास गरेको आरोप लागेको थियो। उनलाई दुई महिना एकान्त कारागारमा थुनिएको थियो। 

जर्मनीस्थित इरानी एलजीबीटीक्यु अधिकार समूह ‘सिक्सर्याक’ की संयोजक सादी अमिनले पनि मृत्युदण्डको सजाय पुष्टी गरेकी छिन्। उनले भनिन्, बिहीबारदेखि नै हामीहरू यस विषयमा अवगत थियौं। तर, अहिले परिवारको स्विकृति पाएपछि मात्र हामीले जानकारी सार्वजनिक गरेका हौं।

अमिनले समाचार एजेन्सी एएफपीलाई भनिन्, ‘हामी अब जर्मनी र अन्य विदेशी सरकारसँग दुई महिलाको स्वतन्त्रताका लागि इरानसमक्ष दबाब बनाउने माग राख्छौं।’ उनले इरानमा पहिलो पल्ट कुनै महिलालाई यौन झुकाव राखेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको बताइन्। 

यसै वर्ष जनवरीमा एमनेष्टी इन्टरनेशनले भनेको थियो, हमिदानीमाथिको आरोप सोसल मिडियामा सार्वजनिक रुपले समलैंगिक अधिकारको बचाउ गर्ने क्रममा र मे २०२१ मा प्रसारित बीबीसी डक्युमेन्ट्रीमा प्रसारित कारण लगाइएको हो। डक्युमेन्ट्री उत्तरी इराकको कुर्दिस्तान क्षेत्रमा एलजीबीटीक्यु व्यक्तिमाथि भएको दुर्व्यवहारको विषयमा थियो। 

हमिदानीले क्षेत्रीय अधिकारीद्धारा पक्राउमा परेपछि इराकको कुर्दिस्तान छोड्ने फैसला गरेकी थिइन। 

इरानमा समलैंगिक यौन सम्बन्धको सजाय मृत्युदण्ड छ। यहाँ समलैंगिकता प्रतिबन्धित अवस्थामा छ।

–एएफपी 
  

प्रतिक्रिया