गिरिजाप्रसाद नाममा लुट मच्चाउने चिनौं

०७२ सालतिर राष्ट्रिय लुटेराहरुको सर्वदलीय मिटिङ्ग बस्यो! पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला बितिसकेपछि पनि उहाँको नाममा लुट मच्चाउने दाउ जीवित थियोे!

– मने, गिरिजा बाबुका नाममा केहि त गर्नुपर्छ! उहाँ त मेरा लागि बाउ सरह नै हो नि! हेलिकप्टर पठाएर जङ्गलबाट नटिपेको भए उतै सिद्धिन्थें! धन्न यता ल्याएर एमाले बराबर संसदमा छिराई दिनु भो! ल्याउने त उहाँ ...! सिटौला तर्फ चोर औंला देखाउनु भो! सिटौला हल्का मुस्कुराउनु मात्र भो!

– बिल्कुल मेरो मनको बात गर्नु भो, प्रचण्डजी! बिचमा बुद्धि बिग्रेर फोरम तोरम भए पनि कङ्ग्रेसी नै हो म!  उहाँको मेरो उपर पनि आशिर्वाद थियोे! केही गरौं! सुशीलजी तर्फ “के गर्ने?”  भावमा हेर्नु भो! सुशीलजीले दारी मुसार्दै मसिनो स्वरमा केही भन्नुभो! कुरो चैं बुझिएन! ओलीतिर आँखा तेस्र्याउनु भो! भाव चंै सहमतिकै बुझिन्थ्यो!

– के मतिर हेर्नुहुन्छ? उहाँ हामी सबैका प्रिय हुनुहुन्थ्यो! साँच्चै भन्ने हो भने मार्गदर्शक नै हो उहाँ! लुटको बिस्कुन फिँजाउने उहाँ नै हो मुलुकमा! ०५१ मा उहाँले सुरु गरेको अराजकताबाट हामीले धेरै कुरा जाने बुझेका छौं! उल्फाको धन छँदैछ! श्राद्ध गरौं न त! उखाने लयमा बोल्दै थप्नु भो– बरु भ्यु टावर पो बनाउने कि?

केहिबेरको गलबद्धी पछि झापाको चन्द्रगढिमा उहाँको नाममा सभागृह ठड्याउने निर्णय पारित भो! न्वारान गरियो– गिरिजा प्रसाद कोइराला स्मृति सभागृह!

GP F 1उल्फाको धनमा फुपुको श्राद्ध गर्न हुक्के लाउके सम्मिलित  टोली प्लेन चढेर झापा आईपुग्यो! टोली संयोजनको टेण्डर सिटौलाले पाउनु भो! यताका हुक्के पनि थपिए! भाषण भूषण भो! गिरिजा प्रसादका नाममा गोहीको आँसु झारियो! खाल्डोमा ईँटा हालियो! नारा लाग्यो– वीर गिरिजा अमर रहुन्! गिरिजाको सपना पूरा गरौं! राजधानी र मोफसलका हुक्केले भोजको मजा लिए! मासु लुछे! सन्ध्याकालिन आरती त पदेन छँदैथियो!

१३ करोड लागत अनुमान गरिएको कामका लागि टेण्डरबाट काम सुरु समेत भो, जिविस मार्फत! ८ करोड ठेकेदार सरले हसुर्नु भो! काम बाँकी नै थियो! स्थानीय निर्वाचन पछि जनप्रतिनिधि नामका जुका भर्ना भए! जिविसको नाम फेरिएर जिसस भो! रत्नपार्ककि मैयाँले ठमेल पुग्दा नाम फेरेझैं! जिसस सम्हाल्न सोम पोर्तेल आउनु भो! जिविसले थालेको काम जिससलाई के सरोकार? बिचमा लकडाउन नामको राष्ट्रिय बहानाले काम रोकियो! पोर्तेलजी सिराने लाएर निदाउनु भो! ठेकेदार सर सायद क्यासिनो पस्नु भो! पोर्तेलजीलाई कोट्याउँदा उहाँले जिविसतिर देखाउनु भो! खै जिविस? भन्दा फुटेज हराएझैं भो! 

काम सुरु गर्ने जिविसले वीरगती प्राप्त गरिसकेको थियो! जिससलाई म्याद थप्ने अधिकार थिएन! जिससले गर्ने कि? प्रदेशले जिम्मा लिने कि? केन्द्रको मुख ताक्नु पर्ने? अन्योल! एकले अर्को देखाउने! तैं रानी मैं रानी .!

काम कसको आदेशमा गर्ने? भुक्तानी कोबाट लिने? अन्योल भएपछि ठेकेदार टाप! ठेकेदार भागेपछि जिससलाई पनि हाईसञ्चो! उसबेलाका स्थानीय बिकास अधिकारी अर्कोतिर सरुवा भए! पुराना अध्यक्ष भूपू भए! काङ्ग्रेसी त गिरिजाको सपना पूरा गर्ने निबन्ध रटानमै ब्यस्त भैगए! यो जिर्ण योजनाबारे बुज्न खोज्दा स्थानीय काङ्ग्रेसीले  पोर्तेल र ओलतिर धारे लाउँदै निकै लामो कथा बखाने! काङ्ग्रेसले बामपंथी सराप्ने! बामपंथीले काङ्ग्रेस गिज्याउने! माओवादी बीचमा बसेर ताली बजाउने! जबकी सिलान्याशको मासु लुछ्नेमा सर्वदलीय उपस्थिति थियो!

आखिर किन? कसरी? के कठिनाइले? निर्माण कार्य रोकियो बुज्न जिसस पुग्दा पुराना कर्मचारी कोहि छैनन्! बिचरा नयाँ कर्मचारी डेरावालाको हैसियतमा देखिए! उनीहरुले घरबेटी देखाएनन्! नयाँ घरबेटी विश्व बरालजी जिसस सहित १८ घरको जिम्मेवारी सम्हालेर बस्नु भएको रैछ! बल्लतल्ल फोन वार्ता सम्भव भो! उहाँका अनुसार– राष्ट्रिय बहाना लकडाउनले काम रोकिएपछि समय सकियो! जिविसको निधन पछि जिससको जन्म त भयो तर हात नभएकोले केही गर्न सक्ने अबस्था रहेन! तैं रानी मैं रानी को जुवारी चल्यो! काम सुरु गर्ने उहाँको प्रयत्नलाई काङ्ग्रेसका तर्फबाट कुनै सहयोग छैन! म्याद थप्न संघीय मामिला मन्त्रालय पठाएको फाईल बैरङ्ग फर्कियो! पछिल्लो प्रगती अनुसार– जिससले नयाँ नियमावली बनाएर पेश गर्ने उर्दिपत्रसम्म चैं प्राप्त भएको बुझियो! उहाँले लगाएको आरोप सत्य हो भने यी र यस्तै अपुरा योजनाको पूर्णताको बाटोमा भद्रपुर नपा भित्रका कुनै अधिकृत बाधक छन्!

काङ्ग्रेसी सरोकारकै बिषय र काङ्ग्रेसकै पहल भएको हुँदा काङ्ग्रेसबाटै बुझ्न गरेको मेरो प्रयत्नमा प्रायः सबै काङ्ग्रेसीको धारेहात पोर्तेल र ओलीतिर नै तेर्सियो! एकाधले लिङ्ग्देन समेत देखाए। ठिकै होला– कुनै समय ओली शीर्ष सत्तामा थिए! पोर्तेल जिसस जिम्मेवारीमा थिए! लिङ्ग्देन सांसदका रूपमा देखिएका थिए! हारे हात पाच्य भयो!

तर अहिले– सत्ताको चाबी राष्ट्रिय भाउजूको मजेत्रो भित्र भए तापनि देउवाको पिछ्वाडा त शीर्ष कुर्सिमै छ! उहाँ सँगसँगै भाउजुकै फरिया समातेर गिरिजा प्रसादको सपना साकार पार्न अरबपती चाउचाउ चौधरी पनि उभिनु भएको छ क्यारे! भाउजूकै ब्यापारीक साझेदार राष्ट्रलाई आधा सम्पत्ति दान गर्ने दानवीर शैक्षिक माफिया पनि काङ्ग्रेस कोटा बाटै झण्डा हल्लाउँदै हुनुहुन्छ भन्ने सुनेको हो! काङ्ग्रेस भित्रै मोहि पार्दै अझै पनि नौनी झिक्न माहिर सिलान्याश नाटक संयोजक प्रभावशाली पूर्व महामन्त्रीको बसोबास पनि यतै हो क्यारे!

कहिलेकाहीँ बाटो हिँडदा नजर पर्नुपर्ने हो! मेची नगरको सेवाबाट फुर्सद पाएर आक्कल झुक्कल तीन नम्बर क्षेत्र छिर्दा अनि एयरपोर्ट जाँदा आउँदा प्रभावशाली बर्तमान महामन्त्रीको नजर पनि परेकै होला कि? नपरेको भए  नजिकै ९÷१० वडा आउँदा ८ मा नजर नपुग्नु काङ्ग्रेसकै दुर्भाग्य मान्नुपर्ला! कुनै समय जीत बहादुर पुरीका राजनैतिक प्रतिद्वन्द्वी भएतापनि अहिले काङ्ग्रेस कोटामा झण्डा हल्लाउँदै त्यै बाटो हिंड्ने ओम सरावगी पनि यसै क्षेत्र भित्र पर्नु हुन्छ क्यारे! कुनै समय  गिरिजा प्रसाद उपर ढुङ्गा बर्साउनेहरु पनि अहिले ठूलै पद ओगटेर  बसेका छन्!

प्रधानमन्त्री आफ्नै! पूर्व महामन्त्री यताकै! बर्तमान महामन्त्री झापाकै! संघीय मन्त्री आफ्नै क्षेत्र को! काङ्ग्रेस मेयर यसै वडाको! वडाध्यक्ष  काङ्ग्रेसकै! सम्पूर्ण भान्सा आफ्नै हातमा हुँदा समेत “खान पाईन” भनेर कतिञ्जेल ओलीको भान्सातिर चिहाउने? ओलीले गरेन भनेर कतिञ्जेल धारे हात लाएर बस्ने?

एक पटक नजर लगाऔं– गिरिजा प्रसादका नाममा कुनै दिन मञ्चन गरिएको नाटक घरमा माथि झ्याउ पलाएको छ तल युवा युवतीको क्रीडास्थल भएको बैंस झरेर सिथिल यत्रतत्र असरल्ल अस्थायी साधनले प्रमाणित गरिदिएको छ! गिरिजा प्रसादको सपना तिनै सिथिल साधन हेर्ने थियोे त? कि आफ्नै आङमा झ्याउ पलाओस् भन्ने थियो? गिरिजा प्रसादको सपना साकार पार्ने कुर्सिधारीले के जवाफ देलान्?

गरौं ! पूरा गरौं!

GP Fकामसँग दुश्मनी भए गठबन्धन गरौं! नामसँग बिमती भए नाम फेरौं! तर कर नामको जनताको खुन पसिनाबाट ठडिएको गिरिजा प्रसादको करङ्ग माथिको मजाक बन्द गरौं! प्रचण्डले बनाएर दाहाल टावर राख्दा पनि भो! ओलीकै नाम दिएर ओली उखान केन्द्र राख्दा पनि फरक नपर्ला! सिटौलाकै पहलमा शिलान्यास भएको हुँदा सिटौला आश्रम राखिदिए पनि केही बिग्रिन्न! देउवा–आरजु मिलन केन्द्र या गच्छदार हावा महल जे मन लाग्छ त्यै राख्दा पनि भैगो! बाँचुञ्जेल गिरिजा प्रसादको मासु लुछ्ने र मरेपछि उनकै करङ्गको गिटार बजाउनेको जिम्मेवारी भित्र यो जीर्ण भवन पर्छ कि पर्दैन?

 त्यसैले, जीवित गिरिजा प्रसादका मासु लुछ्ने आदरणीय महोदय गण! गिरिजा प्रसादका नाममा ठडिएको यस करङ्गमा मासु भर्ने काम गरौं! माथि पलाएको झ्याउ र तल लडेका सिथिल साधन ब्यबस्थापन गरि गिरिजा प्रसाद स्मृति सभागृहलाई पूर्णता दिउँ! कुनै पनि नेता जीवित हुञ्जेल मासु लुछ्ने र मरेपछि करङको गिटार बजाउने काम बन्द गरौं!
 

प्रतिक्रिया