हार्दिक पाण्ड्याको कहानी

कुनै बेला ४०० रुपैयाँमा क्रिकेट खेल्थे, अहिले ७७ करोडको मालिक

भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्ड्या कुनै बेला टिमको सबैभन्दा खराब आचरण भएको खेलाडीको सूचीमा पर्थे। एउटा टेलिभिजन कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनलाई अस्ट्रेलिया भ्रमणको बीचैमा टिमबाट बाहिर निकाल्नु परेको थियो। 
उनी आफै पनि भन्ने गर्छन– म छिटै प्रतिक्रिया जनाउँछु। मलाई कुनै कुरा लुकाउनै आउदैन। 

हार्दिक आफ्नो यही व्यवहारका कारण युथ–१३ देखि युथ–१७ सम्म, यति मात्र होइन– राज्यको जुनियर टिमबाट पनि बाहिर बस्नु परेको थियो। तर यी सबै घटनाका बाबजुद उनले राष्ट्रिय टोलीमा उत्कृष्ट पुनरागमन गरे। पहिले उनले इन्डियन प्रिमियर लिग (आइपीएल) मा आफ्नो टिमलाई विजेता बनाए। हाल जारी एसिया कपमा भारत–पाकबीचको खेलमा विजयी इनिङ खेल्दै वाहवाही लुटे। 

गरिब घरबाट उठेर राष्ट्रिय टोलीको सदस्य बनेका हार्दिक सुरुका दिन गुजरातको एउटा गाउँमा स्थानीय प्रतियोगिता खेल्ने गर्थे। गाउँमा हुने प्रतियोगितामा उनको खासै नाम थिएन। उनी झाँबुजा–११ टिमबाट खेल्ने गर्थे। जसका लागि उनलाई साताको ४ सय रुपैयाँ दिने गरिन्थ्यो। यातायातको कुनै सुविधा थिएन। त्यसैले उनी प्रतियोगिता खेल्न कुनै पनि ट्रकमा चढेर खेल स्थल पुग्थे। 

खेल भइरहेको बेला भोक लाग्यो भने म्यागी चाउचाउ खाएर पेट भर्थे। त्यो अवस्थाबाट उठेका हार्दिक अहिले भारतीय टिमका ‘रकस्टार’ हुन्। विराट कोहली र रोहित शर्मापछि उनी सबैभन्दा बढी ‘फलोअर’ भएका भारतीय क्रिकेट खेलाडी हुन्। उनीसँग लग्जरी कारको कलेक्सन छ। उनको कार कलेक्सनमा ४ करोड पर्ने लेम्बोर्गिनीदेखि ६ करोड पर्ने रोल्स रोय गाडी समावेश छ। 

हार्दिकको जन्म गुजरातको चोर्यासीस्थित हिमान्सु र नालिनी पाण्ड्याको घरमा भएको थियो। उनको पिता हिमान्सुको एउटा सनो कार फाइनान्सको व्यवसाय थियो। हार्दिकलाई सानैदेखि क्रिकेटमा शौख थियो। यसको उदाहरण, उनी बडौंदास्थित मोरे क्रिकेट एकेडेमीमा भर्ना हुँदाको घटना नै पर्याप्त मानिन्छ। त्यतिबेला उनको उमेर मात्र ५ वर्ष थियो। एकेडेमीमा १० वर्षभन्दा कम उमेरको बालकलाई भर्ना लिने चलन थिएन। तर, हार्दिकको खेल देखेर एकेडेमीले त्यो नियममा परिवर्तन गर्यो। 

हार्दिकको बडाै‌दा र मुम्बईको बान्द्रामा गरेर दुई वटा घर छ। बडौंदामा भएको पेन्टहाउस ६ हजार स्क्वायर फिटमा फैलिएको छ। जसमा जिम र निजी थिएटरलगायत थुप्रै सुविधासम्पन्न सामानहरू जडान गरिएको छ। यहाँ उनी परिवारसहित बसोबास गर्छन। उनको परिवारमा हाल आमा, श्रीमति नताशा स्टेनकोभिक, छोरा अगस्त्य, भाई क्रुणाल र भाउजु पंखुरी समावेश छन्। बान्द्रामा भएको ८ बिएचके अपार्टमेन्ट ३८ सय ३८ स्क्वायर फिटमा फैलिएको छ। रुस्तमजी प्यारामाउन्ट टावर्समा रहेको यो अपार्टमेन्टको मूल्य नै ३० करोडभन्दा बढी छ। 

हार्दिकसँग अहिले १५ दशमलव ५० करोड रुपैयाँको कारहरूको कलेक्सन छ। उनी घडीका पनि सौखिन हुन्। उनीसँग ५ करोड पर्ने ‘पाटेक फिलिप नोटिल्स प्लेटिनम–५७११’ देखि २ करोड ७० लाख पर्ने ‘पाटेक फिलिप नोटिल्स १८के वाइट गोल्ड’ को कलेक्सन छ। 

जति नै पैसा कमाए पनि हार्दिकलाई अहिले पनि म्यागी चाउचाउ खुब मनपर्छ। उनी र भाई क्रुणालको नाम सबैले ‘म्यागी ब्रदर्श’ भनेर राखेका छन्। क्रिकेटको सुरुवाती दिनमा म्यागी खाएर पेट भर्ने हार्दिक आजभोलि पनि म्यागी खान रुचाउँछन्। 

विराट कोहली जस्तै हार्दिक पनि ‘टाटु लभर’ हुन्। उनले ‘टाइम इज मनि, नेवर सरेन्डर, एक्सेप्ट र टाइगर’ को टाटु बनाएका छन्। उनले छोरा अगस्त्याको जन्म दिनको टाटु पनि बनाएका छन्, जसमा एउटा व्यक्तिले शिशुको हात पकडिएको देखाइएको छ। टाटुप्रतिको मोह, वेस्ट इन्डियन जस्तो बानी व्यहोराका कारण उनी ‘बडौंदाका वेष्ट इन्डियन’ उपनामले पनि चर्चित छन्। 

हार्दिकले सन् २०१४ मा आइपीएलमा डेब्यु गरेका थिए। उनले २०१५ देखि सात सिजन मुम्बई इन्डियन्सका लागि खेले। २०२२ मा उनी गुजरात टाइटन्सबाट १५ करोड रुपैयाँमा आवद्ध भए। जिक्युको एउटा रिपोर्ट अनुसार उनले ८ वटा सिजनमा ५९ करोड रुपैयाँ कमाइसकेका छन्।  

उनले सर्वियाकी नायिका नताशा स्टेनकोभिचसँग १ जनवरी २०२० मा विहे गरेका थिए। २८ वर्षीय हार्दिकसँग अहिले ८–१० वटा ‘ब्रान्ड इन्डोर्स’ छ। उनले एउटा ब्रान्डको इन्डोर्समेन्टका लागि प्रतिदिन २ करोड रुपैयाँ लिने गर्छन। उनी आफ्नो सोसल मिडियामा कसैको प्रचार गर्नुपर्यो भने त्यसको शुल्क ४० लाख प्रति पोस्ट लिने गर्छन। अहिले उनको कूल सम्पत्ति ७७ करोड रुपैयाँ रहेको बताइन्छ। 


  


 

प्रतिक्रिया