साउदीमा अनाथ किशोरीमाथि कुटपिट, राजकुमार सलमानको आलोचना (भिडियोसहित)

रियाद। साउदी अरबमा अनाथ महिलामाथि कुटपिटको भिडियो भाइरल भएपछि राजकुमार मोहम्मद बिन सलमानको विरोध भएको छ। केही मानव अधिकारवादी संस्थाहरूले राजकुमारसँग यो घटनामा संलग्न व्यक्तिहरूलाई कडा सजाय सुनाउन आग्रह गरेका छन्। उनी सत्तामा आएपछि महिलामाथि हिंसा बढेको भन्दै विदेशी मानव अधिकारवादी संस्थाले विरोध जनाएका छन्। 

भिडियोमा केही सुरक्षा अधिकारीले अनाथालयमा पसेर युवतीहरूलाई नराम्रोसँग कुटपिट गरेको देखिएको छ। भिडियोमा एक महिलाको कपाल पकड्दै उसलाई घिसार्दै ल्याएको र लात्तैलातले हानेको देखिन्छ। उनलाई बेल्टले हिर्काएको दृश्य पनि भिडियोमा कैद छ। सुरक्षाकर्मीले प्रहरी दमनबाट भाग्दै गरेका किशोरीहरूलाई पनि डण्डै डण्डाले हिर्काएको देखिन्छ। 

 

यो घटना ३१ अगस्टको भएको र अनाथ केटीहरूलाई सुरक्षाकर्मीले किन हिर्काए भन्ने स्पष्ट भइसकेको छैन। तर, भिडियो पोस्ट गर्ने एक महिलाले भनेकी छिन्, अनाथालयमा बसोबास गर्ने केटीहरूले भ्रष्टाचार र अन्यायको विरोधमा प्रदर्शन गरेका थिए। 

भिडियो भाइरल भएपछि सरकारले छानवीनको आदेश दिएको छ। छानवीन कमिटी पनि गठन भएको छ। भिडियो खमीस मुसैत नामले ट्रेण्ड भएको छ। खमीस मुसैत त्यही क्षेत्र हो, जहाँ अनाथालय पर्छ। यो क्षेत्र असीर प्रान्तमा पर्छ। राजधानी रियादभन्दा ८८४ किलोमिटर टाढा रहेको छ। 

प्रतिक्रिया