सिरियाको २ विमानस्थलमा इजराइलको हवाई आक्रमण

काठमाडौं। इजराइलले बुधबार राती सिरियाको दुई वटा विमानस्थलमा हवाई आक्रमण गरेको छ। उसले पहिलो आक्रमण अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हो भने दोस्रो दमिस्क विमानस्थलमा गरेको थियो। 

अलेप्पोमा इरानी विमानलाई लक्षित गरेर हवाई आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन्। सिरियाको न्युज एजेन्सी सनाका अनुसार इजराइलले ४ वटा मिसाइल आफ्नो भूमिमा झारेको छ। हवाई आक्रमणपछि विमानस्थलमा ठूलो क्षति पुगेको समाचारमा उल्लेख छ। घटनामा कसैको निधन भएको खबर छैन। 

इजराइलका सैन्य प्रवक्ताले यो घटनाको विषयमा तत्कालै कुनै प्रतिक्रिया दिन अस्विकार गरेका छन्। १४ अगस्टमा पनि इजराइलले राजधानी दमिस्क र टार्टस नजिकै हवाई आक्रमण गरेको थियो। यो घटनामा ३ जना सेनाको निधन भएको थियो भने ३ अन्य सैनिक घाइते भएका थिए। 

‘द सिरियन अब्जर्वेटरी फर हयुमन राइट्स’ का अनुसार इजराइलले हवाई आक्रमणमा सैन्य क्षेत्रलाई लक्षित गरिरहेको छ। इजराइलले यसअघि पनि सिरियामा इरानसँग जोडिएको सैन्य क्षेत्रमा सयौं पल्ट हवाई आक्रमण गरेको थियो। तर, उसले अहिलेसम्म आक्रमण अस्विकार गर्दै आइरहेको छ। 

इजराइल आफ्नो उत्तरी सीमामा इरानी सेनाले घुसपैठ गर्छ भन्ने डरमा छ। यसैको कारण उसले इरानी समर्थक तथा लेबनानी आतंकवादी संगठन हिज्बुल्लाह बस्ने ठाउँमा आक्रमण गर्दै आइरहेको छ।

इरानको रिभोल्युशनरी गार्ड्सले सन् १९८२ मा हिज्बुल्लाहको स्थापना गरेको थियो। यसको उद्देश्य लेबनाममा प्रवेश गरेको इजराइली नागरिकलाई मार्नु थियो। हिज्बुल्लाहको अर्थ ‘इश्वरको दल’ भन्ने बुझिन्छ। यो लेबनानको सिया मुसलमानको आतंकवादी संगठन तथा राजनीतिक पार्टी पनि हो। यो संगठनले इरानको सिया मुसलमानको सिद्धान्तमा बसेर काम गर्छ। यसैले इजराइल इरानको यो संगठनप्रति असन्तुष्ट छ। 

प्रतिक्रिया