गोर्बाचेभ–थेचरको त्यो सम्बन्ध

काठमाडौं। शीत युद्धको अन्त्य गर्न विशेष भूमिका निर्वाह गरेका सोभियत संघका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभको बेलायतकी पूर्व प्रधानमन्त्री मारग्रेट थेचरसँग विशेष सम्बन्ध थियो। 

गोर्बाचेभको ९१ वर्षको उमेरमा बुधबार निधन भएको छ। पूर्व र पश्चिम जर्मनीको एकीकरणमा पनि गोर्बाचेभको विशेष योगदान थियो। 

‘आइरन लेडी’ को उपमा पाएकी थेचर गोर्बाचेभलाई मन पराउँथिन्। उनले भनेकी थिइन, गोर्बाचेभसँग भेटघाट गर्दा तथा उनको नीतिको विषयमा कुरा गर्न मलाई मन पर्छ।  

सोभियत संघको उत्तराधिकारीको रूपमा स्थापित हुनुअघि गोर्बाचेभ बेलायत गएका थिए। सन् १९८४ मा उनी बेलायत पुग्दा थेचरले भब्य स्वागत गरेकी थिइन। गोर्बाचेभ १९८५ मा सोभियत सत्तामा स्थापित भएका थिए। 

थेचरको जीवन ‘एभरथिङ सी वान्ट्स’ मा उनले लेखेकी छिन्, बेलायतमा उनलाई सोभियत संघको भावी राष्ट्रपतिको रूपमा हेरिएको थियो। बेलायतमा थेचरले यसको ठूलै प्रचार गरेकी थिइन। 

थेचरको जीवनी लेख्ने चाल्र्स मुरले भनेका छन्, ‘बेलायतको कुनै पनि प्रधानमन्त्रीले सोभियत नेतासँग यति धेरै पल्ट भेटघाट गरेका थिएनन्, जति थेचरले गोर्बाचेभसँग गरिन्।’ 

विन्स्टन चर्चिलले पनि त्यति भेट जोसेफ स्टालिनसँग गरेका थिएनन्, जति थेचरले गोर्बाचेभसँग गरे। गोर्बाचेभसँग थेचरको सम्बन्धको ब्याख्या यही कुराबाट गर्न सकिन्छ, उनी गोर्बाचेभलाई गोर्बी भनेर सम्बोधन गर्थिन। सन् १९८७ मा थेचर मस्को जाँदा उनले भिडमा सबैको अगाडि गोर्बाचेभलाई साहसी र जेन्टलम्यान भनेर सम्बोधन गरेकी थिइन। पश्चिमा जगतले गोर्बाचेभको पेरेस्त्रोइका र ग्लासनोस्टको नीतिलाई लिएर सन्देह गरिरहेको बेला थेचरले खुलेर समर्थन गरेकी थिइन। 

गोर्बाचेभ र थेचरले मिलेर विश्वकै नक्सा परिवर्तन गरेका थिए। थेचर पूर्वी र पश्चिम जर्मनी एकीकरणको विरूद्धमा थिइन। तर पनि बर्लिनको देवाल भत्कियो। यो मुद्धामा उनले गोर्बाचेभको समर्थन गरिन्। थेचरले १९९० मा पदबाट राजीनामा गरेकी थिइन।

गोर्बाचेभले पनि १९९१ मा राजीनामा गरे। दुबै आ–आफ्नो पदबाट हटे पनि भेटघाटको क्रम अन्तिमसम्म कायम थियो।  
 

प्रतिक्रिया