२५ वर्षदेखि जंगलमा एक्लै बसिरहेका व्यक्तिको निधन

अमेजन। अमेजनको बाक्लो जंगलमा विगत २५ वर्षदेखि एक्लो जीवन बाच्दै आएका एक आदिवासीको निधन भएको छ। आफ्नो समुदायका उनी अन्तिम सदस्य थिए। प्राप्त रिपोर्टअनुसार उनको स्वभाविक निधन भएको छ। 

अमेजनको ब्राजिलतर्फको क्षेत्रमा बसोबास गर्ने यी व्यक्ति ‘इन्डियो अफ द होल’ को नामले चर्चित थिए। ब्राजिलमा आदिवासीको गतिविधिलाई सुक्ष्मढंगले नियाल्दै आएको नेशनल इन्डियन फाउन्डेसन (फुनाई) ले यी व्यक्तिलाई लामो समयदेखि निगरानीमा राखेको थियो। उनको हेमोकमा निधन भएको बताइएको छ। उनको शरीरमा कुनै किसिमको चोट वा दाग नलागेको हुनाले निधनलाई स्वभाविक मानिएको छ।

समुदायको अन्तिम व्यक्ति

इन्डियो टोनारु वा इन्डियो अफ द होलबाट उनलाई यस कारण बोलाइन्थ्यो, उनी खाल्डो खन्ने काम गर्थे। यही खाल्डोमा विभिन्न जनावर फसाएर र यसलाई मारेर आफ्नो पेट पाल्ने गर्थे। कहिले काहिँ उनी आफू पनि खाल्डोमा बस्ने गर्थे। उनले करिब २५ वर्ष एक्लै जंगलमा बिताए। उनको उमेर खुल्न सकेको छैन। 

उनी आदिवासी समुदायका अन्तिम व्यक्ति थिए, जो रोन्डोनिया राज्यको टोनारु क्षेत्रमा बसोबास गर्थे। उनी जंगलमा बसोबास गर्ने विश्वको एक्लो मान्छेको रूपमा पनि चिनिन्थे। मानव अधिकारवादी कार्यकताको भनाई अनुसार उनको समुदायका अन्य मानिस जनावरका लागि फार्म बनाउने मानिसको हातबाट मारिए। यो क्षेत्रमा १९७० देखि १९८० को दशकमा यस्तो फार्म हाउसको विस्तार भएको थियो, जसका कारण यहाँका आदिवासीले कि यो क्षेत्र छोडेर हिँड्नु पर्यो वा उनीहरू मारिए। 

आफ्नो समुदायका अन्य व्यक्तिलाई गुमाउनुको पिडाका कारण उनी अरुको सम्पर्कमा आउन चाहेनन्। न उनी जंगलबाट बाहिर निस्किन चाहे। उनी शिकार र खेती कार्यबाट आफूलाई जिवित राख्न सफल भएका थिए। 

amazon

बोलिभियाको सीमासँग जोडिएको ब्राजिलको यो क्षेत्र ‘वाइल्ड वेष्ट’ को उपनामले चिनिन्छ। यहाँ जमिनको विषयमा हुने झगडाले धेरैको ज्यान गइसकेको छ। सर्भाइवल इन्टरनेशनलमा आवद्ध फियानो वाट्सन ‘आर्थिक फाइदा तथा औपनिवेशीकरणको नाममा आदिवासीमाथि हुने अत्याचारको प्रतिरोधको उदाहरण यी व्यक्ति भएको तर उनको निधनले आदिवासी नरसंहारको योजना पुरा’ भएको दावी गर्छन। 

यो क्षेत्र बाक्लो वनजंगलका कारण चर्चित छ। ब्राजिल सरकारले हालै सार्वजनिक गरेको रिपोर्टमा देशभित्र करिब ८ लाख आदिवासी छन्, जो ३ सय विभिन्न समुदायमा विभाजित छन्। यस मध्ये पनि आधा जति अमेजनको जंगलमा बसोबास गर्छन। यी समुदाय अहिले प्राकृतिक संसाधन दोहन गर्ने व्यक्तिहरूको निसानामा छन्। किनभने यिनै आदिवासीका कारण वनजंगल सुरक्षित छन्। फुनाईका अनुसार ब्राजिलमा विभाजित भएर बसोबास गर्ने आदिवासीको संख्या १ सय १४ मापन गरिएको छ।

उनीहरूको संख्या घट्दै जानु चिन्ताको विषय बनेको छ। 

श्राेत एएफपी
 

प्रतिक्रिया