इरानमा छोरीले झुण्ड्याइन् आमालाई 

तेहरान। इरानमा एक महिलालाई उसैको छोरीले फाँसीमा झुण्ड्याएकी छिन्। यो उनले इरानको कानुन मातहत रहेर गरेकी हुन्। 

फाँसीको सजाय पाउने महिलाको नाम मरियम करिमी हो। १३ वर्षअघि मरियमले आफ्नै श्रीमानको हत्या गरेकी थिइन। श्रीमान हत्यामा करिमीको पिताले पनि सहयोग गरेका थिए। उनलाई पनि फाँसीको सजाय सुनाइएको थियो तर फाँसी हुनुअघि नै उनको निधन भयो। 

आमालाई फाँसी दिने छोरीलाई १३ वर्षसम्म थाहा थिएन, उनको आमा–बुवा जीवित छन् भन्ने। उनी हजुरबुवा–हजुरआमासँग हुर्किएकी थिइन। इरानमा हत्याको सजायमा कडा कानुन छ। थुप्रै मानवअधिकारवादी संस्थाले यो कानुनको विरोध पनि गरिसकेका छन्। तर, सरकारले परिवर्तनको कुनै तयारी देखाएको छैन। 

इरान वायरको रिपोर्टअनुसार मरियमलाई बुर्का लगाएको अवस्थामै फाँसीमा झुण्ड्याइएको थियो। घाँटीमा डोरी झुण्ड्याएर कुर्सीमा उभिएकी मरियमलाई उनको छोरीले कुर्सीमा लात हान्दै झुण्डिन विवश तुल्याएकी थिइन। 

छोरीले जेल र स्थानीय अधिकारीको दबाबमा आदेशको पालना गरेको विभिन्न पत्रपत्रिकाले बताएको छ। 

यो घटना सन् २००९ ताकाको हो। विवाहपछि मरियमका श्रीमान उनलाई दुःख दिने गर्थे। छोरीलाई कुटपिट र सधै भोकै राख्ने कारण मरियमका पिताले आफ्नो ज्वाईलाई निकै सम्झाउन खोजेका थिए। तर, उसले आफ्नो चालचलनमा कुनै सुधार नगरेपछि मरियम र उनको पिताले मिलेर हत्या गरेका थिए।

घटना हुँदा छोरी ६ वर्षकी थिइन। हाल उनी १९ वर्ष पुगेकी छिन्।
 

प्रतिक्रिया