इराकमा फेरि राजनीतिक अस्थिरता, अल–सद्रको राजनीति छोड्ने घोषणा

काठमाडौं। श्रीलंका जस्तै इराकमा पनि अराजकता फैलिन सुरु भएको छ। राजनीतिक गतिरोध कायम रहँदा सिया धर्मगुरु मुक्तदा अल–सद्रले सोमबार राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन्। 

उनको घोषणासँगै सेनाले शहरमा कर्फ्यु लगाएको छ भने अल–सद्रका समर्थक सडकमा उत्रिएका छन्। पछिल्लो रिपोर्ट अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झड्प भएको छ। 

सद्रका हजारौं समर्थकले राष्ट्रपति भवन (रिपब्लिक प्यालेस) मा आक्रमण गरेका छन्। सुरक्षा अधिकारीले परिस्थितिलाई नियन्त्रणमा ल्याउन अंश्रृग्यासको गोला प्रहार गरेका छन्। तर, प्रदर्शनकारी टसमस भएका छैनन्। 

प्रदर्शनमा भएको प्रहरी दमनका कारण २० जनाको निधन र ३०० जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।   

सिया धर्मगुरु अल–सद्रले हिंसा र गोली प्रहारको घटना पूर्ण रूपले बन्द नहुँदासम्म आफू भोक हड्तालमा बस्ने घोषणा गरेका छन्। 

सद्रको समर्थकले राष्ट्रपति भवन कब्जा गर्दै भित्र रहेको पौडी पोखरीमा गर्मीको आनन्द लिएका थिए। उनीहरू मिटिङ हल र भवनभित्र घुम्दै गरेको तस्वीर पनि सार्वजनिक भएको छ। 

अल–सद्र समर्थक र राजनीतिक विरोधी इरान समर्थित सिया समूहबीच लामो समयदेखि गतिरोध कायम छ। 

 

इराकी सरकारमा राजनीतिक गतिरोध त्यति बेला सुरु भएको थियो, जब धर्मगुरु मक्तदा अल–सद्रको पार्टीले अक्टुबरको संसदीय चुनावमा सबैभन्दा धेरै मत प्राप्त गरे पनि बहुमत पुर्याउन सकेको थिएन।  

उनले सहमतीय सरकार निर्माणका लागि इरान समर्थित सिया प्रतिद्धन्द्धीसँग कुराकानी गर्न अस्विकार गरेका थिए। यसअघि पनि अल–सद्र समर्थकले जुलाईमा सरकार निर्माणको प्रयासलाई रोक्न संसदमा प्रदर्शन गरेका थिए। यति बेला ४ सातासम्म उनीहरू धर्नामा बसेका थिए। उनको समूहले संसद पदबाट राजीनामा पनि गरेका थिए। 

संयुक्त राष्ट्र महासंघ (युएन) का महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन्। उनले स्थानीय नागरिकलाई संयमता अपनाउन अपीलसमेत गरेका छन्। 

गत जुलाईमा पनि सद्रका समर्थकले इराकमा प्रदर्शन गरेका थिए भने संसद भवनमा कब्जा जमाएका थिए। उनीहरूको आरोप थियो, प्रधानमन्त्री पदका उम्मेदवार मोहम्मद सिया अल–सुदानी इरान समर्थक हुन्। 

इराकमा गत अक्टुबरमा भएको चुनावमा अल–सद्रको समूहले ३ सय २९ सिटको संसदमा ७३ सिट जितेको थियो। यो इराकमा सबैभन्दा ठूलो समूह हो। ठूलो समूहको रूपमा स्थापित भए पनि सरकार बनाउन नपाएको तोड सद्र समूहलाई छ। सन् २०१६ मा पनि अल–सद्रका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए। उनीहरूले धर्ना दिँदै राजनीतिक सुधारको माग गरेका थिए। 
 

प्रतिक्रिया