रक्सीको लत छुटाउने जादुई मसरुम

काठमाडौं। भ्रमित तुल्याउने मसरुमको प्रयोग रक्सीको लतमा डुबेका व्यक्तिलाई नशामुक्त गर्न सहयोगी सावित हुन सक्छ। हालै भएको एउटा अनुसन्धानमा मसरुम नशामुक्तिको लागि सहयोगी सावित भएको थियो। तर, यसको प्रभाव लामो समयसम्म रहन्छ कि रहदैन, त्यो पुष्टी हुन भने बाँकी छ। 

गत बुधबार जेएएमए साइकिएट्री पत्रिकामा प्रकासित एउटा अध्ययनमा भनिएको छ, नशामुक्तिका लागि प्रयोग हुने औषधी साइलोसिविन मसरुमको माध्यमबाट दिँदा यसले रक्सीको कूलतमा लागेका व्यक्तिको रक्सी पिउने बानीमा कमि आएको थियो। 

साइलोसिविन मसरुमको थुप्रै प्रजातिमा भेटिन्छ। यसमा पाइने तत्वले हेलुसिनेशन अर्थात मस्तिष्कलाई भ्रमित पार्न सक्छ। यसको प्रभाव घण्टौंसम्म रहनसक्छ। आदिवासीहरु यसको प्रयोग उपचारका लागि गर्ने गर्छन। वैज्ञानिकहरु यतिबेला यो तथ्य पत्ता लगाउने अभियानमा छन्, यसले डिप्रेशन र धुम्रपानको लतबाट उन्मुक्ति पाउन सहयोग गर्छ कि गर्दैन। 

साइलोसिविन अमेरिकामा अवैध छ। यद्यपि ओरेगनसमेत केहि शहरमा यसलाई कानुनी मान्यता प्राप्त भइसकेको छ। आउँदो वर्षदेखि ओरेगनमा सरकारी नियन्त्रणमा यसलाई बेच्ने मान्यता प्रदान गरिने छ। यसका लागि छिट्टै लाइसेन्स उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ। 

कसरी भयो अध्ययन? 

जोन हप्किन्स विश्वविद्यालयको न्युरो साइन्टिस्ट फ्रेड बेरेट, जो यो अध्ययनमा सहभागी थिएनन्, भन्छन्, ‘जेएएमए साइकिएट्रीमा प्रकासित अनुसन्धान नियन्त्रित वातावरणमा भएको पहिलो अध्ययन हो। जसमा यो पत्ता लगाउन खोजिएको छ कि मसरुम रक्सीको लत छुटाउन सहयोगी हुन्छ कि हुँदैन।’

यो अध्ययनमा ९३ जनाले भाग लिएका थिए। उनीहरूमध्ये केहिलाई साइलसिविन पाइने मसरुम खान दिइएको थियो। अरुलाई छद्म औषधी दिइएको थियो। यी दुवै थरीका मानिसलाई सोफामा सुताएर हेडफोनको माध्यमले एउटा संगीत सुनाइएको थियो। एक महिनाको अवधिमा उनीहरुलाई दुई वटा सत्रमा समावेश गरियो। पहिलो सत्रको ८ महिनापछि ती मानिसहरूको प्रदर्शन राम्रो भएको थियो, जसले मसरुम खाएका थिए। उनीहरू हरेक १० दिनमा एक पल्ट धेरै रक्सी पिउने गर्थे। र, छद्म औषधी सेवन गरेका मानिस चार दिनमा यस्तो क्रिया दोहर्यारहेका थिए। 

अध्ययनकै क्रममा मसरुम खाने समूहका करिब आधा प्रतिशत मानिसले पूर्ण रुपमा रक्सी पिउन छोडेको तथ्य पनि बाहिर आएको थियो।  

नयाँ औषधी आवश्यक

रक्सीको लत छुटाउन डाइसलफिराम, नेलट्रेक्सोन र अकेन्परोसेट जस्ता तीन वटा औषधीलाई अहिलेसम्म स्विकृति प्रदान गरिएको छ। यस बाहेक विगत २० वर्षको अवधिमा अन्य कुनै औषधीले स्विकृति पाएका छैनन्। 

वैज्ञानिकले अहिलेसम्म यो पत्ता लगाउन सकेका छैनन् कि, साइलोसिविनले मस्तिष्कमा कसरी काम गर्छ। तर, अनुसन्धानकर्ताले स्विकार गरेका छन्, कम्तिमा पनि यसले अस्थायी रूपमा भए पनि मस्तिष्कको व्यवस्थापकीय प्रक्रियामा परिवर्तन ल्याउने गर्छ। 

न्युयोर्क विश्वविद्यालयका मानसिक रोग विभागका निर्देशक डा. माइकल बोगनसुत्स भन्छन्, ‘साइलोसिविनले मस्तिष्कमा हुने संवादमा सुधार ल्याउँछ।’ उनले यो अनुसन्धानको नेतृत्व गरेका थिए। 

कस्तो रहयो रोगीको अनुभव?

बोगनसुत्सले नयाँ उपचार पद्दति मानिसको जीवन परिवर्तन गर्न सहयोगी सावित भएको बताएका छन्। वासिङ्टनमा बसोबास गर्ने ६९ वर्षीय मेरी बेथको अनुभव छ, उनलाई मसरुम दिएपछि हेलुसिनेसनको बेला राम्रो ठाउँको माथिबाट उडेको अनुभव भयो। ‘मलाई यतिबेला टेलिपेथीमार्फत इतिहासमा भएका रचनात्मक मानिससँग संवाद भए जस्तो लाग्यो। मलाई एक्लो भएको अनुभव नै भएन।’

सन् २०१८ मा यो अध्ययनमा भाग लिनुअघि उनी हरेक साँझ पाँच–छ प्याक रक्सी पिउने गर्थिन। अझ, शुक्रबारको दिन उनको रक्सीको मात्रा बढ्ने गथ्र्यो। ‘मलाई थाहा हुन्थ्यो, धेरै पिइरहेको छु। तर, रोक्न सक्दिन्थे। मसँग कुनै स्विच थिएन, जसलाई बन्द गर्न सकूँ।’

तर, अहिले उनी रक्सीलाई हात पनि लगाउँदिनन्। यसको श्रेय उनी साइलोसिविनलाई दिने गर्छिन।
–एपी 

प्रतिक्रिया