चीनमा ६१ वर्षयता कै गर्मी

काठमाडौं। चीनमा ६१ वर्षयता कै सबैभन्दा गर्मी मापन गरिएको छ। गर्मीका कारण सुख्खा र बिजुलीको संकट पनि उत्पन्न भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्। 

बिजुली संकटका कारण यति बेला केही शहरमा लोड सेडिङको अवस्था छ भने सपिङ मलहरूमा ५ घण्टा मात्र बिजुली खपत गर्न आदेश दिइएको छ। संघाईको चर्चित स्काइलान बुन्दमा दुई दिनदेखि बत्ति बलेको छैन। फक्सवेगन, एप्पल र टोयटा जस्तो अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्लान्टमा काम ठप्प छ।  

चीनको सिचुआन प्रान्तस्थित चोङक्विङ शहरको तापमान १८ अगस्टमा ४५ डिग्रीसम्म मापन गरिएको थियो।  

२० अगस्टमा चोङक्विङ शहरको न्युनतम तापक्रम नै ३४ दशमलव ९ डिग्री थियो। यो तापक्रम अगस्ट महिनामा चीनमा दर्ता गरिएको सबैभन्दा गर्मी हो। त्यो दिन अधिकतम तापक्रम ४३ दशमल ७ डिग्री पुगेको थियो। 

देशको मध्य तथा दक्षिण–पश्चिम क्षेत्रमा रहेको दर्जनौं शहरको तापक्रम ४० डिग्रीभन्दा माथि भेटिएको छ। यसमा पनि सबैभन्दा बढी प्रभावित सिचुआन प्रान्तको दर्जन बढी शहर छन्। यस्तै, याङ्त्जी नदी बेसिनमा बसेको संघाई शहरले समेत गर्मी अनुभव गरिरहेको छ। 

मंगलबार मात्र चीनको १ सय ६५ शहर तथा गाउँमा अत्याधिक गर्मीका कारण रेड अलर्ट जारी गरिएको थियो। चीनको मौसम विभागले यी क्षेत्रमा केही दिन तापक्रम ४० डिग्री हुने आशंका व्यक्त गरेको छ। बढ्दो गर्मीका कारण नागरिकलाई घरमै बस्न सुझाव दिइएको छ। 

गत वर्षको तुलनामा यसपालिको चीनमा जुलाई महिनामा ४० प्रतिशतले वर्षामा कमि आएको र यो १९६१ यता कै सबैभन्दा कम वर्षाको रेकर्ड भएको बताइएको छ। सुख्खाका कारण चीनको सिचुआन, हुबेई, हुनान, जियाङ्सी, अनहुई र चेङक्विङ प्रान्तमा २४ दशमलव ६ लाख मानिस र २२ लाख हेक्टर खेतीयोग्य जमिन प्रभावित बनेको छ। 

चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयले सुख्खाको कारण ७ दशमलव ८० लाख मानिसलाई प्रत्यक्ष सहयोगको आवश्यकता रहेको बताएको छ। 

याङ्त्जी चीनको सबैभन्दा लामो र विश्वको तेस्रो लामो नदी हो। तिब्बतको पठारबाट यात्रा सुरु गरेर यो नदी ४ हजार माइलको लामो यात्रापछि संघाईको पूर्वी चीन सागरमा बिलिन हुन्छ। चीनको सबैभन्दा उब्जनी हुने खेतीयोग्य जमीनमा सिचाईं गर्ने काममा पनि यो नदीको महत्वपूर्ण भूमिका छ।

याङ्त्जी नदीले चीनको ४० करोड मानिसलाई पिउने पानी उपलब्ध गराउने गर्छ। तर, सुख्खाका कारण मुख्य धारामा आउने पानीको फोर्समा यसपालि ५० प्रतिशतले कमि आएको छ। 

रिपोर्ट अनुसार गर्मी र सुख्खाका कारण सिचुआन र याङ्त्जी नदी किनारमा रहेको प्रान्तमा तरकारीको भाउँ आँकासिएको छ। जुन महिनाको ३ दशमलव ७ प्रतिशतको तुलनामा जुलाईमा तरकारीको मूल्य १२ दशमलव ९ प्रतिशतले बढेको छ। अगस्टमा मूल्य अझैं बढेको छ। 

गर्मीकै कारण कुखुराको अण्डा उत्पादनमा २–३ प्रतिशतले कमि आएको छ। जसका कारण केही प्रान्तमा अण्डाको मूल्य ३० प्रतिशतले बढेको छ। 

चीन आफूलाई आवश्यकता पर्ने १५ प्रतिशत बिजुली हाइड्रोबाट उत्पादन गर्छ। यसपालि बर्षा राम्रोसँग नहुँदा हाइड्रोको क्षमतामा नराम्रो असर परेको छ। ८ दशमलव ४ करोड जनसंख्या रहेको सिचुआन प्रान्तमा सन् २०२१ ताका ८० प्रतिशत बिजुली हाइड्रोपावरबाट उत्पादन भएको थियो। तर, यसपालि ५० प्रतिशतले यसमा कमि आएको छ। यसमा पनि तीब्र गर्मीका कारण बिजुलीको माग २५ प्रतिशतले उच्च अवस्था छ। 
 
 

प्रतिक्रिया