को थिइन दारिया दुगिन? 

‘पुटिनको ब्रेन’ मानिने रुसी विचारक अलेक्जेन्डर दुगिनको छोरी हुन्, दारिया दुगिन। जसको ‘हत्या’ को विषय अहिले विश्वभरि चर्चामा छ। रुसी जनताहरू युक्रेनले बदलास्वरुप दार्याको हत्या गरेको मान्यता राख्छन्। यो घटनामा यति ठूलो विवाद किन भइरहेको छ? 

यसलाई बुझ्ने प्रयास गरौं–

दारियाको शनिबार एउटा कारमा बिस्फोटमा निधन भयो। २९ वर्षीय दारिया युक्रेनमा रुसद्धारा सञ्चालित सैन्य अभियानको कट्टर समर्थक थिइन। उनी सोसल मिडियामा भाइरल पनि थिइन। 

रुसी सुरक्षा एजेन्सीका अनुसार शनिबार राती मस्कोको एउटा उपनगरमा भएको कार बिस्फोटमा दारियाले ज्यान गुमाएकी हुन्। यो घटनाको अनुसन्धानमा संलग्न पदाधिकारीले प्रारम्भिक छानवीनमा कारमा एउटा बम जडान भएको संकेत प्राप्त गरेका छन्। यही कारण सुरक्षा एजेन्सीहरू यो घटनालाई ‘हत्या’ को एंगलले अनुसन्धान गरिरहेका छन्। 

रुसी मिडियाले भने यो घटनामा युक्रेनी आतंकवादीको हात भएको ठहर गरेको छ। मिडिया रिपोर्ट अनुसार घटनामा युक्रेनी आतंकवादीले दार्याको पिता अलेक्जेन्डरलाई मुख्य निशाना बनाएका थिए। 

६० वर्षीय अलेक्जेन्डर लेखक तथा दार्शनीक हुन्। उनी ‘युरेशियानिज्म’ को सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति हुन्। यो सिद्धान्तमा रुस र स्लाभ नश्ललाई युरोप र एसियामा सर्वश्रेष्ठ मानिएको छ। दुगिनको सिद्धान्त भन्छ– युरेशियामा रुसको अनुदारवादी र तानाशाही शासन हुनुपर्छ। यो सिद्धान्तले अमेरिका तथा अटलान्टिसिज्मको सिद्धान्तलाई सिधै चुनौति दिने काम गरेको छ। 

को हुन अलेक्जेन्डर दुगिन? 

vlatimir putin

अलेक्जेन्डर दुगिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दिमाग मानिन्छन्। पुटिन उनको सिद्धान्तबाट निकै प्रभावित भएको बताउनेको कमि छैन। युक्रेनमाथि रुसी आक्रमण उनकै विचारको प्रतिविम्ब मानिन्छ।   

युक्रेनी मिडियाले पिता र छोरी मिलेर युक्रेनविरूद्ध आगो ओकल्ने काम गरिरहेको र अलेक्जेन्डरले त युक्रेनी जनतालाई मार्नुपर्नेसम्मको आवहान गरेको बताएको छ। दारिया दुगिनले युक्रेनी जनतालाई ‘किरा–फट्याङ्ग्रा’को संज्ञा दिएको युक्रेनी मिडियाको आरोप छ। 

रुसी समाचार एजेन्सी इन्टरफेक्सले जनाए अनुसार दुगिन र उनको छोरीले शनिबार देशभक्तहरूको एउटा उत्सवमा भाग लिएको जनाएको छ। पत्रिका लेख्छ, ‘पहिलेदेखि नै यो कार्यक्रम तय थियो। यसमा पिता र छोरीले संयुक्त भाग लिने बताइएको थियो। तर, दारिया आफ्नो कारमा एक्लै निस्किइन।’

सोसल मिडियामा पिता अलेक्जेन्डर आफ्नो टाउको समात्दै छोरीको जल्दै गरेको कार अगाडि उभिएको भिडियो भाइरल भएको छ। 

अलेक्जेन्डर दुगिनको सन् १९९७ मा ‘द फाउन्डेसन्स अफ जियोपोलिटिक्सः द जियोपोलिटिकल फ्युचर अफ रसिया’ प्रकासित भएको थियो। यस किताबमा युरेशियामा अमेरिकी प्रभावको आलोचना गरिएको छ। यही किताबमा दुगिनले अन्य देशको सिमाना भत्काएर भए पनि रुसले यो क्षेत्रमा आफ्नो प्रभाव कायम राख्नुपर्ने वकालत गरेका छन्। 

सन् २०१५ मा अमेरिकाले दुगिन युक्रेनको शान्ति, सुरक्षा, स्थिरता, सम्प्रभूता र क्षेत्रीय एकताका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको थियो। यही वर्षको मार्चमा अमेरिकाले भनेको थियो– दुगिनको युरेशियन युथ युनियनले सैन्य अनुभव भएका युवालाई भर्ती गर्ने कार्यलाई तिब्र बनाएको छ। जो पूर्वी युक्रेनको डेनेत्स्क क्षेत्रमा लडिरहेका छन्।

बदलाको आवहान

रुसी मिडियाले दारियाको हत्याको बदला लिनुपर्ने लेख प्रकासित गरेका छन्। रुसको सरकारी टिभी आरटीका प्रमुख मार्गरिटा सिमोन्यानले भने, ‘यो बिस्फोटनको पछाडि युक्रेनको हात छ। यसको बदला लिन जरुरी छ।’

युक्रेनले भने रुसी आरोपको खण्डन गरेको छ। युक्रेन राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले स्थानीय टिभीलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘निश्चिन्त हुनुहोस्, यो घटनामा युक्रेनको लिनुदिनु केही छैन। किनभने हामी रुस जस्तै अपराधी देश होइनौं।’

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभले टेलिग्राममा एउटा सन्देश सार्वजनिक गर्दै भनेकी छिन्, ‘दारियालाई सच्चा देशभक्त रुसी युवतीको रूपमा सम्झना गरिनेछ।’

–(राेयटर्स)

प्रतिक्रिया