समय-सन्दर्भ

यसरी भएको थियो, श्याम थापाको नेपाली फुटबलमा आगमन

बोध बहादुर राउत

२०३२ सालमा ब्वायज युनियनले लिग र नकआउट प्रतियोगिताको उपाधि जितेपछि टोलमा मात्र होइन, बाहिर पनि मेरो नेतृत्वलाई लिएर वाहवाही हुन थाल्यो। 

यसै क्रममा एउटा यस्तो घटना भयो, जसले मलाई फुटबलमा लाग्न थप प्रेरणा दियो। मेरो पिता नेत्र बहादुर राउत पनि कुनै बेलाका फुटबल खेलाडी। उहाँ नर शमशेर राणाको टिमबाट ९० सालताका राणाहरूको महलमा आयोजना हुने फुटबल प्रतिस्पर्धामा भाग लिनुहुन्थ्यो। 

त्यति बेला बुवा र छोराहरूको दोहोरो कुरा हुने जमाना थिएन। बुवाको कुरा ‘फकिरका लकिर’ जस्तै हुन्थ्यो– ‘नो इफ, नो बट’। अनुहार हेरेर कुरा गर्नै नसकिने। बुवासँग कुरा गर्नुपर्यो भने, आमामार्फत। 

आफू पनि खेलेको हुनाले फुटबलप्रति बुवाको मोह नहुने कुरा भएन। कहिले काहिँ हामी हारेर फर्किदा घरमा ठूलो स्वरले सबैलाई सुनाउँदै गिज्याउनुहुन्थ्यो, ‘थुइँक्क हारेर फर्कियो।’

तर, जितेर फर्किएको दिन केही नबोल्ने। गमक्क फुलेर बस्ने। सायद उहाँलाई छोराको तारिफ गर्यो भने फुर्किएर बिर्गन्छन् भन्ने लाग्थ्यो होला। तर, २०३२ सालमा हामीले सहिद स्मारक लिग र त्रिभुवन च्यालेञ्ज सिल्डको उपाधि जितेपछि एउटा घटना भयो। 

बाबुरामलाई पनि लागेको रहेछ–यति भनेपछि उसको प्रसंसामा लालबहादुरले पनि एक–दुईवटा फुलबुट्टा थप्छन कि भनेर।   तर, यो सुनेपछि लालबहादुर उल्टै पो जंगीए–‘कस्तो मान्छे रहेछन्? श्याम थापा इन्डियाबाट आएर बसेको छ। बाबुरामलाई पो फुटबल खेल्न लैजान्छु भन्छ।’

त्रिपुरेश्वरको महादेव मन्दिर प्राङ्गणमा प्रजातन्त्र दिवसको दिन एउटा कार्यक्रमको आयोजना भएको थियो। त्यसदिन शिक्षा सहायक मन्त्री हिरालाल विश्वकर्मा, सञ्चार राज्यमन्त्री राधा प्रसाद घिमिरेलगायत राजदरबारका एक जना सचिवको पनि उपस्थिति थियो। म पहिलेदेखि नै बोलक्कड स्वभावको मान्छे। त्यसमा पनि अध्यक्ष भएर क्लबलाई लिग र नकआउट प्रतियोगिताको उपाधि जिताएको फुर्ति। सबैले भाषण गर्ने मौका उपलब्ध गराए। त्यति बेला मैले यस्तो भाषण ठोकेछु, सबैले गडगडाएर ताली पिटे। 

भाषण ठोकेर फर्किने बेला बुवा र राजदरबारका सचिव बसेको ठाउँबाट हिँड्दै थिए। बुवाले ती सचिवसँग कुरा गरेको फ्याँट सुने, ‘छोरोले क्या भाषण ठोक्यो। मन्त्रीले गरे जस्तो लाग्यो।’

यसपछि मलाई लाग्यो, बुवाले जे भए पनि मेरो कामको मूल्यांकन गर्नुभएको रहेछ। यसले झन् उर्जा थप्यो। 

...

अर्को वर्ष २०३३ सालको लिगमा ‘ब्याडलक’ भयो। राम्रो खेल्दाखेल्दै उपविजेतामा चित्तबुझाउनु पर्यो। तर, नकआउट प्रतियोगिता खेल्ने क्रममा एउटा ऐतिहासिक सञ्जोग जुर्यो। टिमका आक्रामक मिडफिल्डर बाबुराम गुरुङ आफ्नो घर बुटवल फर्किसकेका थिए। यता काठमाडौंमा प्रतियोगिताको लागि टाइसिट सार्वजनिक भयो। मोबाइल, टेलिफोन, इन्टरनेट केहि सुविधा नभएको त्यो जमाना, आवा(आकाशवाणी) बाहेक अर्को विकल्प थिएन। तर, आवामा पनि पुरा सूचना कहाँ जान्थ्यो र!

त्यसैले म र रामेश्वर राउत (पछि नेपालको पहिलो फिफा रेफ्री बने) बाबुरामलाई लिन बुटवल हानियौं। हामी बुटवल पुग्दा उ एउटा मेला हेर्न पो गएको रहेछ। कुरेर बसेको राती भयो। 

मलाई कचौरी मन पर्ने। बिहान बाबुरामसँगै नास्ता खान बजार निस्किएको, तत्कालीन नगर पञ्चायतका जागिरे लालबहादुर गुरुङ भेटिए। लालबहादुर बाबुरामका साथी। उसले फुर्ति लगाउँदै हाम्रो परिचय गरायो–‘मलाई फुटबल खेल्न बोलाउनका लागि काठमाडौंबाट आउनुभएका साथीहरू।’  

बाबुरामलाई पनि लागेको रहेछ–यति भनेपछि उसको प्रसंसामा लालबहादुरले पनि एक–दुईवटा फुलबुट्टा थप्छन कि भनेर।  
तर, यो सुनेपछि लालबहादुर उल्टै पो जंगीए–‘कस्ता मान्छे रहेछन्? श्याम थापा इन्डियाबाट आएर बसेको छ। बाबुरामलाई पो फुटबल खेल्न लैजान्छु भन्छ।’

यो सुनेर रामेश्वर र म अवाक भयौं। श्याम थापाको खेलको चर्चा धेरै अगाडिदेखि सुनेको। इन्डियन पत्रपत्रिकामा उहाँले हानेको ‘बाइसाइक्लिङ किक’ को फोटो पनि हेरेको, म त के बोल्ने–नबोल्ने ट्वाँ परेँ। 

धोक्रो स्वर मसिनो पार्दै सोधे, ‘हाम्रोबाट खेल्नु हुन्छ?’

एलबीको नामले परिचित लालबहादुरले श्याम थापाको मेनेजर आफै भए जस्तै फुर्ति लगाए, ‘किन नखेल्ने?’

मैले भने, ‘उसो भए, उहाँलाई भेटाउन सक्नुहुन्छ?’

उनले आत्मविश्वासका साथ भन्यो, ‘त्यही मंगलापुर त हो नि।’

यसपछि रामेश्वर र बाबुरामलाई त्यही नास्ता पसलमा छोडेर म उनलाई लिएर रिक्सामा हानिदैं मंगलापुर पुगे।

 

...

रोचक कुरा, क्लबलाई आर्थिक रूपमा सक्षम बनाउन हामीले कैयुर शमशेर राणालाई संरक्षक बनाएका थियौं। उहाँले बुटबलबाट खेलाडी लिएर आउन हामीलाई २५ सय रुपैयाँ दिनुभएको थियो। खल्तीमा पैसा भएको कारणले गर्दा पनि होला, श्याम थापालाई पनि क्लबबाट खेलाउने आत्मविश्वास चुलिएको थियो। 

श्याम थापाको घर पुगेपछि लालबहादुरले मेरो अधुरो परिचय गराए। उनको पहिलेदेखि नै श्याम दासँग राम्रो चिनजान रहेछ। 

भने, ‘यी भाई काठमाडौंबाट आएको। काठमाडौं गएर फुटबल खेल्नु पर्यो।’

लालबहादुरको कुरा सुनेपछि श्याम दा पनि एकछिन अवाक। उहाँले सोच्दै नसोचेको कुरा। कहाँ घरायसी कामका लागि नेपाल आएको। एक्कासी फुटबल खेल्ने प्रस्ताव राख्दा अकमकाउनु भयो। र, भन्नुभयो, ‘प्राक्टिस केही छैन। कसरी खेल्नु?’

श्याम दा बोल्दै हुनुहुन्थ्यो, लालबहादुरले बीचैमा कुरा काटेर भने, ‘तिमीलाई पनि के प्राक्टिस गरिरहनुपर्यो?’

shyam thapa1

उनको कुरा सुनेपछि श्याम दाले पहिलो पल्ट सोध्नुभयो, ‘कुन टिम हो? कस्तो टिम हो?’

वास्तवमा नेपालमा फुटबल खेल्ने रहर श्याम दाको पहिलेदेखि रहेछ। तर, कोलकाताको व्यस्त सेड्युलका कारण उहाँको नेपालमा फुटबल खेल्ने अवसर जुरेको रहेनछ। 

मैले फ्याँट भने, ‘लिग च्याम्पियन क्लब हो।’ 

मेरो कुरा सुनेपछि उहाँ अलि लचिलो देखिनुभयो। 

फेरि सोध्नुभयो, ‘मसँग लामो समय छैन। कसरी खेल्ने? म त पुजाको लागि आएको। फर्किहाल्नु पर्छ।’

मैले पुनः आग्रह गरे, ‘नकआउट टुर्नामेन्ट हो। फेरि प्लेनबाट आउने–जाने व्यवस्था मिलाउँछु।’

उहाँलाई पनि लाग्यो होला– साता–दश दिन जति त होला नि! 

त्यसपछि उहाँले मुन्टो हल्लाउनु भयो, हुन्छ भन्दै।  

श्याम दाले ब्वायज युनियन क्लबबाट फुटबल खेल्छु भन्नु नै मेरो लागि कुनै लिग जितेभन्दा कम थिएन। मनै फुरुङ्ग। मलाई त ‘ढुंगा खोज्दा देउता मिले’ जस्तो भयो। 

श्याम दालाई पुजाका लागि दुई दिन कुर्ने कुरामा सहमति भयो। त्रिभुवन च्यालेञ्ज सिल्डमा हाम्रो खेल हुनुभन्दा एक दिनअघि हामीले प्लेनको टिकट काट्यौं।  

त्यति बेला शाही नेपाल बायुसेवा निगमको एउटा जहाज भैरहवाबाट उड्ने गर्थो। स्टपरको पोजिशनबाट खेल्ने नरेन्द्र शाही पनि भैरहवाबाट हामीसँगै खेल्न जाने कुरा ‘कन्फर्म’ भयो। 

यसकारण मैले श्याम थापालगायत नरेन्द्र शाही, बाबुराम गुरुङ, रामेश्वर राउत र आफ्नो गरी ५ वटा टिकट कन्फर्म गर्दा कैयुर शमशेरले उपलब्ध गराएको सबै पैसा लगभग खर्च भइसकेको थियो। 

प्लेन उड्ने दिन अर्को नौंटकी भयो। रिक्सामा नरेन्द्र शाही र रामेश्वर राउत एयरपोर्टका लागि पहिले नै हिँडिसकेका थिए।

बाबुरामले घरबाट निस्किन अलिकति समय लगायो। श्याम दा, म र बाबुराम अर्को रिक्सामा भैरहवातर्फ लाग्दै थियौं, एयरपोर्टको गेटमा पुग्दानपुग्दै प्लेन त उड्यो। 

वास्तवमा प्लेनको उड्ने समय साढे ३ बजेको थियो। बाबुरामले ढिलो गर्दा प्लेन छुट्यो। 

यतिबेला श्याम दा मेरो मुख हेर्ने, म बाबुरामको। खेल भोलि छ। आज प्लेन छुट्यो। धेरै प्रयासपछि भोलिका लागि ३ वटा टिकट मिलाउन सफल भए। फेरि टिकट काट्ने पैसाको पनि त्यस्तै अभाव थियो। तर, जसोतसो जुगाड भयो।  

अघिल्लो दिन प्लेन छुटेको हुनाले अर्को दिन हामी २ घण्टा अगाडि नै एयरपोर्ट पुगिसकेका थियौं। मलाई थाहा थियो, हामी काठमाडौं उत्रिँदा खेल लगभग सुरु भएको अवस्था हुनेछ। त्यसैले मैले श्याम दालाई एयरपोर्ट मै जर्सीबाहेक जुत्ता र अन्य लुगा लगाएर ठिक पर्न आग्रह गरे। 

उहाँलाई अचम्म लागेछ– के तालको केटाहरू होलान? मैदान देखेको छैन। एयरपोर्टमै फुटबल बुट लगाएर तयार हुनु भन्छ?

प्लेन आफ्नो समयमा भैरहवाबाट उड्यो। नागढुंगाको माथिबाट आरएनएसीको विमान एयरपोर्टतर्फ लाग्दै गर्दा मलाई किन हो, प्लेन बीचैमा अड्किए जस्तो लाग्यो। मेरो पुरा ध्यान खेलतर्फ थियो। त्यसैले मुटुको चाल रोकिए जस्तो भइरहेको थियो। खेल सुरु भइसक्यो कि भन्ने कल्पनाले छटपटाइरहेको के थिए, श्याम दाले प्लेनको झ्यालबाट रंगशालातर्फ हेर्दै भन्नुभयो– ‘उडी साला, मान्छे छैन त।’ 

कोलकातामा ४०–५० हजार दर्शकहरू माझ खेलिरहेको बानी श्याम दाले प्लेनको झ्यालबाट रंगशाला मुनि हेर्दा मान्छे देख्नु भएन। मैले उहाँ बिच्किने हो कि भन्दै थमथमाए, ‘गेम सुरु भएको छैन। विस्तारै मान्छे आउँछन्।’

हामीलाई लिन काठमाडौं विमानस्थलमा कैयुर शमशेर आउनुभएको रहेछ। रंगशालामा खेल सुरु हुन लागिसक्यो, हतार–हतार श्याम दालाई कैयुर शमशेरको गाडीमा बसाउँदै हामी त्रिपुरेश्वरतर्फ लाग्यौं। 

गाडीमा अर्को रमाइलो घटना भयो। कैयर दाईले पनि श्याम दाको नाम सुनिरहेको। गाडी चलाउँदा उहाँको हात स्टेरिङमा, टाउको भने पछाडिको सिटमा। श्याम दा पछाडिको सिटमा बस्नु भएको थियो। त्यसैले कैयुर दाई घरिघरि टाउको पछाडि फर्काइरहनुहुन्थ्यो, श्याम दाको अनुहार हेर्न। 

...

श्याम दालाई कैयुर शमशेरको गाडीमा हालेर रंगशाला प्रवेश गर्दा रेफ्री र हामीसँग पहिलो खेल खेल्न लागेको पर्सा–११ टिम मैदानमा प्रवेश गरिसकेको थियो। रेफ्रीले ब्वायज युनियनको टिमलाई बोलाउन २–३ चोटी ‘व्हीसल’ पनि बजाइसकेका रहेछन्।

तर, हाम्रो कप्तान रुपकराज शर्मा निकै बाठो। उसले श्याम दा र म रंगशालाभित्र प्रवेश नगर्दासम्म समय टार्ने हिसाबले कहिले भित्र जाने र कुनै बहाना बनाउँदै फेरि बाहिर निस्किने गरिरहेको थियो। 

श्याम थापाले नेपाली फुटबलमा डेब्यु गरेको खेलमा ब्वायज युनियन ११–१ गोलले विजयी भयो। तर, काठमाडौंमा अझै धेरैलाई शंका थियो, पर्साविरूद्ध मैदानमा उत्रिएका श्याम दा असली श्याम थापा हुनभन्ने कुरामा। 

श्याम दाको ब्याग बोकेर म गाडीबाट उत्रिँदा त्यहाँ हल्लाखल्ला भइसकेको रहेछ। बोधेले भारतीय फुटबलका लिजेन्ड श्याम थापालाई लिएर आउँदै छ। तर, दुब्लोपातलो ज्यान भएका श्याम थापा गाडीबाट उत्रिँदा ब्वायज युनियन टिमका खेलाडीबाहेक अन्यले खासै पत्याएनन्। त्यही गाइगुई सुनिन थाल्यो– ‘श्याम थापा भनेर नक्कली लिएर आएछ।’ 

त्यति बेला यो आशंका जायज पनि थियो। भारतबाट मोहन बगान र इस्ट बंगालको जर्सी लगाएर आउने सामान्य खेलाडीले पनि नेपालमा तहल्का पिटेर जान्थ्यो। यस्तो बेला भारतको ‘हाइपेड’ खेलाडीले नेपालमा आएर फुटबल खेल्छ भन्ने कसैले कल्पना पनि गरेका थिएनन्। श्याम दा त्यति बेला भारतमा सबैभन्दा बढी पैसा कमाउने खेलाडीमा गनिनुहुन्थ्यो। 

त्यो गेमका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक जना बंगालीलाई लाइन्सम्यान नियुक्त गरेको थियो। उनी लामो समयदेखि शरणार्थीको रूपमा नेपालमा बसेको हुनाले नेपाली बोल्थे। र, प्रायः सबै खेलाडी र पदाधिकारीलाई राम्रोसँग चिन्थे।

उनको तर्क थियो, ‘त्यो सक्कली श्याम थापा नै हो। उ नक्कली भएको भए, बोधबहादुरले यसरी ब्याग बोक्थ्यो?’ 

boys union 2

जे होस् रंगशाला भित्रिएको केही मिनेटमै ब्वायज युनियनको जर्सी लगाएर श्याम थापा मैदानमा उत्रिनुभयो। वास्तवमा यो नेपाली फुटबलको अर्को अनौठौं संयोग हुनुपर्छ, श्याम थापा जस्तो स्टार खेलाडी, जसले काठमाडौंं शहर राम्रोसँग हेर्न पनि पाउनु भएको थिएन। काठमाडौं आगमनको सुरुवात नै रंगशालाबाट भयो।  

...

२०३३ सालको त्रिभुवन च्यालेञ्ज सिल्ड धेरै अर्थमा यादगार छ। यही प्रतियोगितामा पर्सा–११ बाट नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान गणेश थापा पनि खेल्दै थिए। काठमाडौंमा उनको यो पहिलो खेल थियो। पर्सा–११ बाट मिन शाहलगायत एक सय एक राष्ट्रिय खेलाडी उपस्थित थिए। 

तर, हामी श्याम थापालाई आफ्नो जर्सीमा पाएर दंग थियौं। श्याम दाको आगमनका कारण सबैलाई लागेको थियो, पर्सालाई मज्जाले पेलिन्छ। तर, ब्वायज युनियनको पुरानो रोग यहाँ पुनः बल्झियो। खेल सुरु भएको २–३ मिनेट भित्रै हामीले नमज्जाको गोल खायौं। 

यो गोल खानुको महत्वपूर्ण कारण श्याम दा नै हुनुहुन्थ्यो। हाम्रा सबै खेलाडी आफ्नो स्वभाविक खेल खेल्न बिर्सिएर श्याम दाको खेल हेर्न व्यस्त भए। तर, एक गोल खाएपछि क्लब सम्हालियो। हामीले गेम समाप्त हुँदा ११ गोल हानिसकेका थियौं। 
पहिलो खेलको नतिजा ब्वाइज युनियन ११–१ पर्सा। 

मैले प्यारापिटबाट कराउनुपर्यो–अर्को गोल नहान् भनेर। किनभने त्यतिबेला १२ गोल खाने टिमले जर्सी फुकाल्नुपर्छ भन्ने मान्यता थियो, नियममा नभए पनि। 

...

श्याम थापाले नेपाली फुटबलमा डेब्यु गरेको खेलमा ब्वायज युनियन ११–१ गोलले विजयी भयो। तर, काठमाडौंमा अझै धेरैलाई शंका थियो, पर्साविरूद्ध मैदानमा उत्रिएका श्याम दा असली श्याम थापा हुनभन्ने कुरामा। 

यस बारेमा स्पष्टीकरण दिँदादिँदा हैरान हुन्थे। सेमिफाइनल दिल्लीको मुगल–११ टिमविरूद्ध थियो। त्यो खेल ‘ड्र’ गरे मात्र हामी फाइनल पुग्थ्यौं। तर, यहाँ पनि सुरु मै ‘ब्याडलक’ भयो। मुगल–११ ले सुरुवात मै हामीविरूद्ध गोल हान्यो। दिल्लीको टिम भने पनि त्यहाँबाट श्याम दासँगै भारतीय टिमबाट खेल्ने अर्को बंगाली खेलाडीको उपस्थिति थियो। 

धीरेन्द्र सरकार कुर्सीबाटै जंगीनुभयो। खेल सकिएपछि मलाई भन्दै हुनुहुन्थ्यो, ‘श्याम थापालाई फल हान्ने को हो? त्यसलाई ठिक पार्नुपर्छ।’

खेल सकिन २ मिनेट बाँकी हुँदासम्म हामी ०–१ ले पछाडि थियौं। खेल लगभग हाम्रो हातबाट उम्किसकेको अवस्था थियो।

तर, त्यति नै बेला राइट आउट महेन्द्र गुरुङले मुगल–११ को डिबक्समा गरेको हाई क्रस बललाई उडेर श्याम थापाले टाउकोले कप्दै गोलमा परिणत गरेपछि रंगशाला नै तरंगीत बन्यो। यसपछि हिजो नक्कली भन्ने समर्थक पनि श्याम दालाई असली मान्न थाले।

यही एउटा गोलले नक्कली भनिएका श्याम थापा, असली श्याम थापामा रुपान्तरण भए। उहाँले खेल १–१ गोलले ड्र भएपछि मैदानबाट बाहिर निस्किने क्रममा भन्नुभयो, ‘फाइनल पुग्यौं होइन?’

...

ब्वायज युनियन अर्को वर्ष पनि त्रिभुवन च्यालेञ्ज सिल्डको फाइनलमा पुगेपछि काठमाडौंमा होहल्ला भयो। फाइनल हेर्न दशरथ रंगशाला खचाखच भरिएको थियो। फाइनल खेल ब्वायज युनियन र बर्डेस क्लब, कोलकाताबीच थियो। 

shyam thapa2

अधिराजकुमार धीरेन्द्र शाहको पनि रंगशालामा सवारी भयो। त्यति बेला उहाँ राष्ट्रिय खेलकुद परिषद्को संरक्षक हुनुहुन्थ्यो। श्याम दाको ठूलो प्रसंसक पनि। खेलकै दौरान एक पल्ट कोलकाताको टिमले श्याम दालाई नराम्रो ट्याकल गर्यो। धीरेन्द्र सरकार कुर्सीबाटै जंगीनुभयो। खेल सकिएपछि मलाई भन्दै हुनुहुन्थ्यो, ‘श्याम थापालाई फल हान्ने को हो? त्यसलाई ठिक पार्नुपर्छ।’

फाइनल खेल गोलरहित बराबरीमा टुँगियो। यो खेलको टिकट विक्रीबाट एन्फाले राम्रो कमाईं गर्यो। त्यसैले एन्फा ‘ड्र’ भएको फाइनल खेल पुनः भोलिपल्ट खेलाउन चाहन्थ्यो। तर, श्याम दालाई कोलकाता टिमका खेलाडीले अनुरोध गरेछन्, फर्किने हतारो भइसक्यो। कृपया संयुक्त विजेता घोषित गराइदिनु पर्यो। 

श्याम दाले यो जानकारी हामीलाई गराउनु भयो। र, उहाँले पनि संयुक्त विजेता घोषित गर्न आग्रह गर्नुभयो। प्रतियोगिता खेल्ने क्रममा श्याम दाको व्यक्तित्वबाट हामी सबै प्रभावित भइसकेका थियौं। उहाँको आग्रह हाम्रो लागि निर्देशन जस्तै थियो। त्यसैले हामीले एन्फालाई संयुक्त विजेता घोषित गर्न आग्रह गरेपछि नेपालको फुटबल इतिहासमा पहिलो पल्ट नकआउट टुर्नामेन्टमा दुई वटा टिम नै ‘ज्वाइन्ट विनर’ घोषित भयो। 

यसपछि श्याम दाले ब्वायज युनियनबाट लगातार १० वर्ष लिग र नकआउट प्रतियोगिता खेल्नुभयो। क्रमशः 

(राउत ब्वायज युनियन क्लबका पूर्व अध्यक्ष हुन्। उनीसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)

ब्वाइज युनियनको त्यो शान

 

 

प्रतिक्रिया