डोभालको सुरक्षामा गल्ती भएपछि ३ कमाण्डो बर्खास्त

दिल्ली। जेम्स बोण्डको उपनामले प्रचारित राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको घरको सुरक्षामा सामान्य गल्ती हुँदा तीन कमाण्डोलाई जागिरबाट बर्खास्त गरिएको छ। यो घटनामा डिआइजी र कमाण्डेन्ट र्याकिङका दुई अफिसरको ट्रान्सफर भएको छ। गृह मन्त्रालयका अधिकारीले यसको जानकारी दिएका हुन्। 

गत फेब्रुअरीमा एक जना अपरिचित व्यक्तिले कारमा डोभालको दिल्लीस्थित सरकारी अवासमा प्रवेश गर्ने प्रयास गरेका थिए।

सुरक्षाकर्मीले घटनास्थलमा ती व्यक्तिलाई पक्राउ गरेका थिए। उसले सुरक्षाकर्मीलाई आफ्नो शरीरमा चिप रहेको र त्यो रिमोटबाट चल्ने बताएको थियो। तर, छानवीनको क्रममा उसको शरीरबाट कुनै चिप फेला परेन। 

आरोपी १६ फेब्रुअरी बिहान ७ बजेर ४५ मिनेटमा रातो रंगको कारमा पुगेको थियो। छानवीनमा उसले कर्नाटकको भएको र गाडी भाडामा लिएकोे बताएको थियो। पछि उसको पहिचान बेग्लुरुको भएको र शान्तनु रेड्डी नाम भएको पुष्टी भयो। प्रहरीले उसको मानसिक अवस्था ठिक नभएको बताएको छ। 

अजीत डोभालको आवास दिल्लीको सबैभन्दा सुरक्षित लुटियन्स क्षेत्रको ५ जनपथ बंगलामा पर्छ। यसअघि पूर्व प्रधानमन्त्री इन्द्र कुमार गुजराल यही बस्थे। डोभालको आवास नजिकै कांग्रेस अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंहको पनि आवास पर्छ। डोभाललाई जेड प्लसको सुरक्षा उपलब्ध गराइएको छ। उनको सुरक्षामा सीआईएफएसको कमाण्डो तैनाथ हुन्छन्। 

प्रतिक्रिया