सम्बन्ध सुधारका लागि भारत–पाकिस्तानबीच गोप्य वार्ता

दिल्ली। भारत र पाकिस्तानबीच लामो समयदेखि गतिरोध सम्बन्ध सुधारका लागि गोप्य वार्ता भइरहेको खुलासा भएको छ। 

भारतबाट प्रकासित हुने ‘द एक्सप्रेस ट्रिब्युन’ को रिपोर्ट अनुसार दुइ देशका प्रधानमन्त्रीहरू सम्बन्ध सुधारमा सहमत देखिएका छन्। ‘कुराकानी भइरहेको छ। तर एउटा ठाउँमा पुगेर सबै कुरा अड्किएको छ,’ द एक्सप्रेस ट्रिब्युनमा उल्लेख छ, ‘गतिरोध हटाउने विषयमा दुवै देश सहमत छन्। तर, कसरी अगाडि बढ्ने भन्ने कुरामा सहमति जुट्न सकेको छैन।’

रिपोर्ट अनुसार पाकिस्तानमा जारी राजनीतिक अनिश्चितताका कारण ठोस निस्कर्ष निकाल्न गाह्रो परिरहेको छ। पाकिस्तानमा शहबाज शरीफ प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले बधाई दिने देशहरूमा भारत पनि थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका थिए। 

पछाडिको बाटोबाट इमरान खान सरकारसँग पनि भारतले संवादलाई अगाडि बढाएको थियो। शरीफ गत अप्रिलमा प्रधानमन्त्री भएपछि संवादले अलिकति तिब्रता लिएको बताइएको छ। 

दुवै पक्ष आफ्नो मुद्धामा अडिक हुँदा समस्या परेको पत्रिकाको दावी छ। ‘पाकिस्तान सम्बन्धलाई सामान्यीकरण गर्ने अभियानभन्दा पहिले काश्मिरको मुद्धामा केही ठोस निर्णय गराउन चाहन्छ,’ पत्रिकामा उल्लेख छ। तर, भारत काश्मिरको मुद्धाभन्दा पनि द्धिपक्षीय व्यापार पुनर्वहाली होस् भन्ने चाहन्छ। दुई देशबीच जारी गतिरोधपूर्ण सम्बन्धका कारण पाकिस्तान र भारतीय विदेशमन्त्रीबीच तासकन्दमा सम्पन्न संघाई सहयोग संगठनको बैठकमा भेट हुन सकेको थिएन।  
 

प्रतिक्रिया