सुनकको बेलायती प्रधानमन्त्री बन्ने अभियान कमजोर बन्दै 

काठमाडौं। बेलायतको प्रधानमन्त्री पदमा भारतीय मुलका ऋषि सुनकको सम्भावना कमजोर हुँदै गएको छ। पहिले उनी प्रधानमन्त्रीको लोकप्रिय उम्मेदवार थिए। उनीविरूद्ध लिज ट्रसको स्थिति बलियो हुँदै गएको छ। 

सुरुको भिडन्तमा सुनकले कन्जरभेटिभ पार्टीको तर्फबाट १ सय ३७ संसदको समर्थन प्राप्त गरेका थिए। उनको तुलनामा १ सय १३ समर्थन मात्र प्राप्त गरेकी ट्रस कमजोर देखिएकी थिइन। फाइनल चरणमा कन्जरभेटिभ पार्टीका करिब २ लाख स्थायी सदस्यले मतदान गर्दै छन्, यसैबाट नयाँ प्रधानमन्त्रीको चुनाव हुनेछ। 

पार्टीमा ९६ प्रतिसत स्थायी सदस्य श्वेत छन्। कन्जरभेटिभ पार्टीको हालै भएको सर्भेमा सुनकभन्दा ट्रसको मत २८ प्रतिशतले बढेको देखिएको थियो। ट्रसलाई ५८ प्रतिसत तथा सुनकलाई ३० प्रतिशत मात्र मत प्राप्त भएको थियो। 

पार्टीको स्थायी सदस्यको समर्थनमा सुनक पछाडि पर्दै गएका छन्। राजनीतिक विश्लेषकहरू आउँदो समयमा सुनक र ट्रसबीचको अन्तर यथावत रहने बताउँछन्। अर्को सर्भेमा पनि पार्टीको १० मध्ये ६ सदस्य ट्रसको पक्षमा देखिएका छन्। 

अब सुनक र ट्रस भोट माग्न कन्जरभेटिभ पार्टीका सदस्यहरूको बीच जाने छन्। यो प्रक्रियालाई हस्टिङ्स भनिन्छ। एक्सिटर, कार्डिफ र इस्टबोर्नमा हुने हस्टिङ्समा पार्टी सदस्यहरूको बीच सुनकको छवी पूर्व प्रधानमन्त्री बोरिस जोनसनमाथि घात गर्दै सत्ता हत्याउने नेताको रूपमा चित्रण गरिएको छ। 

सुनकले नै राजीनामा गरेर जोनसनलाई प्रधानमन्त्री पदबाट हटाउने अभियान सुरु गरेका थिए। पार्टीका अधिकांश सदस्य जोनसनको गल्तीभन्दा पनि सुनकको गद्दारीका कारण पूर्व प्रधानमन्त्रीले राजीनामा गर्नु परेको बताउँछन्। 

कन्जरभेटिभ पार्टीमा भएका ९६ प्रतिशत श्वेत सदस्यमध्ये २१ प्रतिशत रुढीवादी इङ्लिस हेरिटेज ट्रष्टसँग जोडिएका छन्। यिनीहरूले सुनकलाई समर्थन गर्ने सम्भावना न्युन छ। 

कन्जरभेटिभ पार्टीका ६८ प्रतिशत सदस्य ५० वर्ष माथिका छन्। यी मध्ये अधिकांश सदस्य श्वेत उम्मेदवारलाई मत दिन चाहन्छन्। 
 

प्रतिक्रिया