भारतको विरोधका बाबजुद चीनको जासुसी जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहतर्फ बढ्दै

काठमाडौं। ३५ किलोमिटर प्रति घण्टाको रफ्तारमा चीनको जासुसी शिप युआन वाङ–५ श्रीलंकाको हम्बनटोटातर्फ लागेपछि भारतको चिन्ता बढ्न थालेको छ। 

केही समयअघि मात्र आर्थिक कंगालीका कारण श्रीलंकाका राष्ट्रपति देशबाट भागेर सिङ्गापुर पुगेका थिए। यसलाई भारतले आफ्नो ठूलो जितको रूपमा लिएको थियो। किनभने भारतको बुझाई थियो, राजपक्षें परिवार उनीहरूको विरोधमा चीनलाई अगाडि सारिरहेका छन्। 

नयाँ राष्ट्रपतिको आगमनसँगै भारतले श्रीलंकासँगको सम्बन्ध सुमधुर भएर जाने विश्वास गरिरहेको बेला चीनको जासुसी शिप हम्बोनटोटातर्फ बढिरहेको छ। भारतले यो कदमको विरोध गर्दै श्रीलंकाली सरकारसमक्ष आफ्नो असन्तुष्टी जाहेर गरिसकेको छ। तर, भारतको विरोधका बाबजुद श्रीलंकाले हम्बनटोटा पोर्टमा चिनियाँ शिपलाई आउने अनुमति दिएको छ। 

अहिले भारतीय सुरक्षा निकाय हाइ–अलर्टको अवस्थामा छ। चिनियाँ जहाजको गतिविधिलाई भारतीय नेवीले नजिकबाट नियालिरहेको भारतीय पत्रपत्रिकाले जनाएका छन्। 

चिनियाँ जासुसी शिप युआन वाङ–५ चीनको जियानगिन पोर्टबाट १३ जुलाईमा हिँडेको थियो। जुन ११ अगस्टमा हम्बनटोटा पुग्ने बताइएको छ। यो शिप हम्बनटोटामा एक साता अर्थात १७ अगस्टसम्म रहने छ। हम्बनटोटालाई चीनले ९९ वर्ष लिजमा लिएको छ। 

हम्बनटोटा पुग्न लागेको शिपले स्पेस र सेटलाइट ट्रयाकिङमा विशेषज्ञता हासिल गरेको बताइएको छ। युआन वाङ क्लास शिपमार्फत चीनले सेटलाइट, रकेट र इन्टरकन्टिनेन्टल बेलेस्टिक मिसाइल अर्थात आइसीबीएमलाई ट्रयाक गर्ने गर्दछ। चीनसँग यस्तो ७ वटा शिप छ, जुन पुरै प्रशान्त, अटलान्टिक र हिन्द महासागरमा काम गर्न सक्षम छ। यो शिपले बेइजिङको ट्रयाकिङ स्टेशनलाई पूर्ण जानकारी दिने गरेको छ। 

अमेरिकी रक्षा विभागले यो शिपलाई चिनियाँ सेनाअन्तर्गतको रणनीतिक सहयोग फोर्स (एसएसएफ) ले अपरेट गर्ने गरेको बताएको छ।  

प्रतिक्रिया