राहुल र प्रियंका गान्धी पक्राउ

दिल्ली। महंगी, जीएसटी र केन्द्र सरकारको नीतिको विरूद्ध शुक्रबार सडक प्रदर्शनमा उत्रिएका प्रतिपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। 

कांग्रेसले यी तीन मुद्धामा राजधानी दिल्लीबाहेक अन्य प्रदेशमा पनि विरोध प्रदर्शन गरिरहेको छ। पार्टी अध्यक्ष सोनिया गान्धी कालो कपडा लगाएर कांग्रेसी सांसदसँगै विरोध प्रदर्शनमा उत्रिएकी थिइन। राहुल गान्धी भिडसहित राष्ट्रपति भवनतर्फ बढीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। यस्तै, पार्टी कार्यालयबाट प्रधानमन्त्री निवास घेर्ने अभियानमा निस्किएकी प्रियंकालाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

शुक्रबारको विरोध प्रदर्शनमा अजय माकन, सचिन पायलट, हरिश रावत, अविनाश पांडेसहित कांग्रेसका बरिष्ठ नेताहरू पनि पक्राउ परेका थिए। कांग्रेसको विरोध देखेर सरकारले बिहानैदेखि अकबर रोडमा सुरक्षा व्यवस्था कडा पारेको थियो। प्रहरीले तीन वटा ‘लेयर’ मा सुरक्षाकर्मी खटाएको थियो। 

दिल्लीको जन्तर–मन्तर क्षेत्रमा अहिले धारा १४४ लागु गरिएको छ।  

प्रतिक्रिया