नेपालमा बढ्यो बाघको संख्या, ३५५ फेला

काठमाडौं। नेपालमा ४ वर्षमा बाघको संख्या १ सय २० बढेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेको चौंथो राष्ट्रिय बाघ गणनामा यो तथ्य सार्वजनिक भएको हो। बाघ गणना १९ मंसिरबाट सुरू भएर २८ फागुनमा सम्पन्न भएको थियो ।

नेपालमा बाघको कूल संख्या ३ सय ५५ फेला परेको छ। नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने संकल्प गरेको थियो। त्यो पुरा भएको आज काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी गराइयो। 

नेपालमा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ। यहाँ १ सय २८ वटा बाघ गणना गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ फेला परेका छन्। 

बाघको गणनाका लागि चितवन–पर्सा, बाँके–बर्दिया र शुक्ला–लालझाडी–जोगबुढा गरेर तीनवटा कम्पलेक्स विभाजन गरिएको थियो। बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल–२०१७’ ले निर्दिष्ट गरे अनुसार ‘क्यामेरा ट्रायापिङ’ र ‘अकुपेन्सी सर्भे विधि’ अपनाएको थियो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । जस अनुसार नेपालले यो लक्ष्य सन् २०१८ को गणनामा झन्डै हासिल गरेको थियो । सन् २०१० नेपालमा १ सय २१ बाघ थिए। सन‍् २०१३ को गणनामा १ सय ९८ पुगेको थियो।  सन् २०१८ मा बाघको संख्या २ सय ३५ पुगेको थियो। 
 

प्रतिक्रिया