बाइडेन–सी वार्ता

अमेरिकालाई चीनको धम्कीः आगोसँग नखेल्नुस्

काठमाडौं। लामो समयपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ता भएको छ। करिब २ घण्टा १७ मिनेट भर्चुअलमार्फत वार्ता भएको अन्तर्राष्ट्रिय मिडियाले जानकारी गराएका छन्। 

न्युज एजेन्सी रोयटर्सका अनुसार ताइवानमा अमेरिकी हस्तक्षेंपको चिनियाँ राष्ट्रपतिले चासो लिँदै कुटनीतिक तरिकाले धम्की दिएका छन्। सीको भनाई उध्रृत गर्दै रोयटर्स लेख्छ, ‘चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई धम्की दिँदै भनेका छन्–म तपाईलाई यति मात्र भन्न चाहन्छु। जो मानिस आगोसँग खेल्छ, उसको हात जल्छ नै।’

सीको यो भनाईले दुइ देशबीचको तित्ततालाई दर्साएको एजेन्सीहरूको भनाई छ। चिनियाँ अधिकारीहरू बाइडेन प्रशासनले ताइवानलाई सहयोग गरेको कुरामा असन्तुष्ट छन् र उनीहरूलाईं यो प्रिय लागेको छैन। 

चिनियाँ राष्ट्रपतिले आफ्नो अमेरिकी समकक्षीसँग यसरी कुरा गर्नुको तात्पर्य अघिल्लो साता हुन लागेको अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवाना यात्रा हो। २५ वर्षपछि अमेरिकाको ठूलो नेताले ताइवानको आधिकारीक भ्रमण गर्दैछन्। चीनले यसलाई आफूमाथि घेराबन्दी गर्न लागेको घटनाको रूपमा हेरेको छ। त्यसैले चिनियाँ राष्ट्रपतिले चरम असन्तुष्टी जाहेर गरेका हुन्। यसै कारण चिनियाँ अधिकारीले केही दिन यतादेखि अमेरिकालाई नराम्रो नतिजा भोग्न तयार भएर बस्न धम्की दिँदै आइरहेका छन्। 

अमेरिकाले पनि ताइवान मुद्धामा आफ्नो स्पष्ट धारणा राख्दै आएको छ। उसले ताइवानलाई सहयोग गर्ने कुरामा आफू पछाडि नहट्ने स्पष्ट पारिसकेको छ। चीन ताइवानलाई आफ्नो हिस्सा मान्छ। हङकङपछि उसको ध्यान ताइवानलाई आफ्नो देशमा गाभ्ने रहेको छ। 

बाइडेन र चिङफिङले गत मार्चमा २ घण्टा भर्चुअल बैठक गरेका थिए। त्यतिबेला मुख्य मुद्धा युक्रेन र रुसबीचको युद्ध थियो। अमेरिकी राष्ट्रपति नियुक्त भएपछि बाइडेनको चिनियाँ राष्ट्रपतिसँग यो पाँचौ संवाद हो। 

व्यापार र ताइवानसमेत अन्य मुद्धामा दुवै नेता कुनै निस्कर्षमा पुगिसकेका छैनन्। तर, ह्वाइट हाउसले बिहीबार भएको वार्ताको आधिकारीक जानकारी सार्वजनिक गरेको छैन। दुवै नेताबीच फेरि एक पल्ट कुराकानी हुने सम्भावना प्रबल छ। तर, यसअघि विदेशमन्त्रीहरूले भेटघाट गर्ने कार्यक्रम छ। 

गत बुधबार ताइवानी सेनाको तीन वटै विङ्सले एकै पल्ट युद्ध अभ्यासमा भाग लिएका थिए। अभ्यास सत्रमा चीनसँग कसरी लड्ने भन्ने योजना बनाइएको थियो। ताइवानी सेनाले अमेरिकाबाट किनेको मिसाइलको पनि टेस्ट गरेका थिए। यसमा वारसिप र फाइटर जेट प्रयोग गरिएको थियो। अमेरिकी ड्रोनको पनि प्रयोग भएको बताइएको छ। 

समाचार एजेन्सीका अनुसार अमेरिकी सेनाले न्यान्सी पेलोसीलाई तत्काल ताइवान नजान सल्लाह दिएका छन्। सेनाले युक्रेन र रुसबीच युद्ध भइरहेको अवस्थामा ताइवानमा पनि संघर्ष चर्किएको खण्डमा खतरनाक अवस्था सिर्जना हुन सक्छ।   

प्रतिक्रिया