गैर–कानुनी रूपमा अमेरिका प्रवेश गर्न लागेका १७ आप्रवासीको समुन्द्रमा डुबेर मृत्यु

काठमाडौं। गैर–कानुनी रूपमा अमेरिका प्रवेश गर्न लागेका हाइटीका १७ आप्रवासीको मियामीस्थित समुन्द्रमा डुंगा पल्टिदा निधन भएको छ। 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार ल्याटिन अमेरिकी देश बहामासको दक्षिणी टापु नजिकै डुंगा डुबेको हो। यो घटनामा बहामियन सुरक्षाकर्मीले २५ जनाको जिवित उद्दार गरेका छन्। 

प्रहरी कमिसनर क्लेटन फर्नाडर भन्छन्, ‘डुंगामा कति मानिस थिए, त्यसको पूर्ण जानकारी प्राप्त भएको छैन। तर, डुंगा डुब्दा कम्तिमा ६० जना भएको अपुष्ट जानकारी आएको छ। मृतकको संख्या बढ्न सक्छ। डुंगा मियामी जादैं थियो। 

छानवीन अधिकारीले डबल इन्जिनको स्पिड बोटमा आप्रवासीहरू राती १ बजे बहामासबाट मियामी लागेको बताएका छन्।

बहामासका प्रधानमन्त्री फिलिप डेभिसले मृतकहरू मध्ये १५ जना महिला भएको जानकारी दिएका छन्। उनले घटनामा एक पुरुष र एक बालकको निधन भएको बताए। 

बहामियन अधिकारीका अनुसार समुन्द्रको बाटो हुँदै यहाँबाट मानव तस्करी हुने गरेको छ। यो घटनामा २ जना पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानले डुंगामा आवश्यकताभन्दा बढी मानिसले यात्रा गरिरहेको र खराब मौसमका कारण पल्टिन पुगेको बताइएको छ।  

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले यो घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘पिडित परिवारप्रति सहानुभूति छ।’

एपीका अनुसार बहामासको बाटो हुँदै गैर–कानुनी रूपमा अमेरिका प्रवेश गर्ने हाइटीका जनताहरुको संख्या पछिल्लो समय बढेको छ। यसै वर्षको मे महिनामा हाइटीबाट ८ सय ४२ शरणार्थी बोकेर अमेरिका हिँडेको डुंगाले बाटो पहिल्याउन नसक्दा दुर्घटनाग्रस्त भएको थियो। यही महिना अर्को घटनामा ११ जनाको डुबेर निधन भएको थियो। उनीहरु ३ हजारदेखि ८ हजार अमेरिकी डलरसम्म खर्च गर्छन्। 

प्रतिक्रिया