६ पल्टका प्रधानमन्त्री रानिल श्रीलंकाको नयाँ राष्ट्रपति 

काठमाडौं। ६ पल्ट श्रीलंकाको प्रधानमन्त्री भइसकेका रानिल विक्रमासिंघे नयाँ राष्ट्रपति नियुक्त भएका छन्। उनले २ सय २५ सांसद सिट भएको श्रीलंकाको संसदमा १ सय ३४ मत प्राप्त गरे। ४४ वर्षपछि गोप्य रूपमा भएको मतदानमा रानिलले राष्ट्रपतिको बलियो उम्मेदवार दुल्लास अल्हाप्परुमालाई पराजित गर्दै पहिलो पल्ट राष्ट्रपति चुनिएका हुन्। 

अल्हाप्परुमाले ८२ मत मात्र प्राप्त गरे। रानिल हाल श्रीलंकाको प्रधानमन्त्री पदमा पनि नियुक्त छन्। निर्वतमान राष्ट्रपति गोटबाया राजपक्षें देश छोडेर भागेपछि उनले केही दिनयता कार्यवहाक राष्ट्रपतिको भूमिका पनि निर्वाह गरेका थिए। 

रानिलमाथि गोटबायालाई भगाउन सहयोग गरेको आरोप थियो। बुधबार बिहान भएको चुनावमा रानिललाई राष्ट्रपति बनाउन राजपक्षेंको पार्टी एसएलपीपीका सांसदहरूले सहयोग गरेको बताइएको छ। 

७३ वर्षीय रानिलले राष्ट्रपतिको चुनाव जितेको खबर बाहिरिएलगत्तै प्रदर्शनकारीहरू असमञ्जसमा परेका छन्। श्रीलंकामा सन् १९७८ पछि राष्ट्रपतिको चुनाव गोप्य भएको हो। 

रानिलले कार्यवहाक राष्ट्रपतिको भूमिकामा एक पल्ट इमर्जेन्सी लगाइसकेका छन्। उनीसँग पराजित दुल्लास पूर्व शिक्षामन्त्री हुन्।

उनी पत्रकार पनि थिए। उनलाई विपक्षीले पूर्ण समर्थन गरेको थियो। दुल्लासले राष्ट्रपति पद जितेको भए श्रीलंकाले नयाँ प्रधानमन्त्री पाउने अड्कल लगाइएको थियो। रानिलले राजपक्षेंको २ वर्षको अपुरो कार्यकाल पुरा गर्नेछन्। 
 
 

प्रतिक्रिया