के भारतलाई ‘चिकन–नेक’ मा खतरा छ?

चीनले भुटानको बाटो हुँदै भारतलाई घेर्ने तयारी गरिरहेको भारतीय अधिकारीहरूको दावीसँगै एकपल्ट फेरि एउटा बहसले जन्म लिएको छ, के भारतलाई ‘चिकन–नेक’ मा खतरा छ? 

भारतीय सञ्चारमाध्यमले हालै सार्वजनिक गरेको सेटलाइट तस्वीरमा चीनले डोकलामभन्दा ९ किलोमिटर टाढा भुटानको अमो चु उपत्यकामा एउटा बस्ती बसालेको छ। भुटानी सिमा नजिक रहेको यो गाउँको नाम चीनले पङ्गडा राखेको छ। 

यो ठाउँमा पूर्वाधार निर्माण भइरहेको तस्वीर सबैभन्दा पहिले सन् २०१९ को नोभेम्बरमा सार्वजनिक भएको थियो। अहिले ती स्थानमा मानववस्ती बसिसकेका छन्। यसले भारतको टाउको दुख्नु जायज हो।  

गाउँको सबै घरको अगाडि गाडी पार्किङ भएको देखिन्छ। पङ्गडाको निकट ‘अल वेदर’ सडक पर्छ। भारतको दावी अनुसार यो सडक चीनले भुटानको जमिन कब्जा गरेर बनाएको हो। सडक तीब्र पानीको मुहान भएको अमो चु नदीको किनारमा बनेको छ, जुन भुटानभन्दा १० किलोमिटर भित्र पर्छ। डोकलाम त्यही ठाउँमा पर्छ, जहाँ सन् २०१७ मा चीन र भारतीय सेनाबीच भिडन्त भएको थियो। 

china-bhutan2

चीनले अमो चु उपत्यकाको गाउँमा सडक निर्माण परियोजनालाई निरन्तरता दिइरहेको भारतको दावी छ। अमो चु उपत्यका चीनले कब्जा गरेको भुटानको सबैभन्दा ठूलो भू–भागदेखि ३० किलोमिटर दक्षिणमा रहेको भारतीय अखबारहरूले बताएका छन्। चीनले गत वर्षमात्र यो क्षेत्रमा कब्जा जमाएको र द्रृतगतिमा भइरहेको सडक निर्माणले सिक्किममा बसेको भारतीय सुरक्षा निकायको चिन्ता बढाएको छ।

यतिबेला भारतीय सुरक्षा निकायको सबैभन्दा ठूलो चिन्ता भनेको, अमो चु नदिको किनारमा बनेको सडकका कारण चिनियाँ सेनाहरू रणनीतिक हिसाबले महत्वपूर्ण मानिने डोकलाम पठारमा सहजै प्रवेश गर्न सक्नेछन्। जसले चिनियाँ सेनालाई भारतको संवेदनशील मानिएको सिलिगुडी कोरिडोरसम्म पुग्न सहज हुनेछ। सिलिगुडी कोरिडोरले भारतलाई पूर्वोत्तर राज्यसँग जोड्ने काम गर्छ। 

सन् २०१७ मा भारतीय आर्मीले डोकलाम नजिकै झाम्पेरी क्षेत्रमा हिँडेका चिनियाँ कामदारलाई बीच बाटोमै रोकेका थिए। अब चीन यो क्षेत्रमा वैकल्पिक बाटो हुँदै प्रवेश गर्ने योजनामा छ। 
भारतीय सेनाका पूर्वी कमाण्डर लेफ्टिनेन्ट जर्नेल प्रवीण बख्शी (रिटायर्ड) ले हालै भारतीय च्यानल एनडिटिभीलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘पङ्गडा गाउँ र यसको उत्तर तथा दक्षिणमा पर्ने झाम्पेरी रिज तथा डोकलाम पठारमा कब्जा जमाउने रणनीतिअन्तर्गत चीनले सडक निर्माण गरिरहेको छ।’

china- bhutan

हालै सार्वजनिक नयाँ तस्वीरले अमो चु नदीको किनारमा दोस्रो गाउँ पनि निर्माण भइसकेको देखाएको छ। यस्तै, दक्षिणी क्षेत्रमा तेस्रो गाउँको निर्माण कार्य तीब्र गतिमा भइरहेको दावी गरिएको छ। तेस्रो गाउँ नजिकै नदी वारपार गर्न एउटा ब्रिजको पनि निर्माण भएको छ। यहाँ ६ तल्ला भवन निर्माण भएको देखिन्छ।  

नयाँ तस्वीरको अध्ययन गरेका इन्टेलिजेन्स रिसर्चर डेमियन साइमन भन्छन्, ‘यति सुदूर ठाउँमा भइरहेको तीब्र निर्माणले सोचमग्न बनाएको छ।’ उनी चीनले भुटानी क्षेत्रलाई फुटाउने काम गरिरहेको तर भुटान मुखदर्शक भएर बसेको बताउँछन्। 

अमो चु उपत्यकामा चिनियाँ निर्माणलाई लिएर राजधानी दिल्लीमा भुटानका राजदूत मेजर जर्नेल वेत्सोप नामग्यालले टिप्पणी गर्न अस्विकार गरेका छन्। भुटानको विदेश मन्त्रालयले पनि कुनै बयान जारी गरेको छैन। 

चिनियाँ मामिलाका विशेषज्ञ डा. ब्रम्ह चेलानी भन्छन्, ‘भुटानी क्षेत्रमा गाउँ, सडक र सुरक्षा निर्माण गरेर चीन भारतविरूद्ध आफ्नो सैन्य क्षमता बलियो बनाउँदै छ। चीनको यस क्षेत्रमा पछिल्लो निर्माण कार्यले भारतका लागि निकै महत्वपूर्ण मानिएको ‘चिकन–नेक’ कोरिडोरका लागि खतरा बनेको छ।’ 

china–bhutan1

भुटानतर्फ चीनले यो अभियानलाई यतिबेला सक्रिय बनाएको छ, जतिबेला भारत पूर्वी लद्दाखमा चीनसँगको तनाव कम गर्ने अभियानमा १६ राउण्ड कुराकानीमा बसिसकेको छ। तर, यी कुराकानीबाट कुनै ठोस नतिजा निस्किन सकिरहेको छैन। 
       
 

प्रतिक्रिया