श्रीलंकामा चौथो पल्ट ‘इमर्जेन्सी’ लागु, बुधबार राष्ट्रपतिको गोप्य मतदान हुँदै

कोलम्बो। आर्थिक तथा राजनीतिक संकटबाट जुधिरहेको श्रीलंकामा ४ महिनाभित्र चौथो पल्ट ‘इमर्जेन्सी’ लागु भएको छ। कार्यवहाक राष्ट्रपति रानिल विक्रमसिंघेले पुनः आपतकालको घोषणा गरेका छन्। उनले देशको अवस्थालाई हेरेर यो कदम उठाएको बताएका छन्। 

कमजोर आर्थिक अवस्थामा रहेको श्रीलंकामा सबैभन्दा पहिले १ अप्रिलमा राजपक्षें सरकारले आपतकालीन स्थितिको घोषणा गरेको थियो। पहिलो आपतकाल पाँच दिनपछि ५ अप्रिलमा हटाइयो। तर, ६–२० मेसम्म दोस्रो पल्ट आपतकाल लागु गरियो। 
यस्तै, निर्वतमान राष्ट्रपति गोटबाया राजपक्षें देश छोडेर माल्दिभ्स भाग्दै गर्दा १३ जुलाईमा तेस्रो पल्ट आपतकाल घोषणा गरिएको थियो।

२ सय २५ सदस्यीय सिट भएको श्रीलंकामा २० जुलाईमा राष्ट्रपति चुनाव हुँदैछ। राष्ट्रपति पदका लागि रानिल विक्रमसिंघे, साजिथ प्रेमदासा, अनुरा कुमारदिसानायके र दुलास अल्हाप्परुमाले मनोनयन दर्ता गरेका छन्। श्रीलंकाको राजनीतिक इतिहासमा ४४ वर्षपछि गोप्य मतदानद्धारा राष्ट्रपति चुनाव हुँदैछ। सन् १९७८ मा पनि संसदको गोप्य मतदानबाट राष्ट्रपति छनोट गरिएको थियो। 

आर्थिक संकटमा रहेको श्रीलंकाको अहिलेको अवस्था हेरेर जन विद्रोह नहोस् भन्नका खातिर गोप्य निर्वाचनको सहारा लिनुपरेको हो।   
 

प्रतिक्रिया