गभर्नरलाई चेतावनी पत्र

गभर्नरज्यू, नमस्कार !

यहाँ जुन कार्यक्रममा अतिथि भएर जानु हुन्छ त्यो कार्यक्रममा यहाँले भन्ने कमन बोली भनेको हामी छिट्टै श्रीलंका जस्तो हुँदैछौं। हाम्रो बिदेशी मुद्राको संचिति घटिरहेको छ। यी दुई वटा कुरा आउँछन् आउँछन्। 

रेमिट्यान्स आउन कम भएको छ पनि भन्नुहुन्छ। पछिल्लो तीन महिनाको तथ्याङ्कले रेमिट्यान्स घटेको देखिँदैन। बरु स्थीर छ। किन आमनागरिकलाई अझ भनांै सेयर लगानीकर्तालाई मर्माहत बनाउँदै हुनुहुन्छ?

'शेयरबजार जुवाको खेल होइन, सरकारले यसको मर्म नै बुझेको छैन'

गभर्नरज्यू, 

हामीले २०७२ सालको भूकम्प, भूकम्पपछि लगत्तैको नाकाबन्दी, त्यसपछिको दुई दुई बर्षे कोरोना महामारीबाट त लगानीकर्ता बिचलित भएनौं। बैंक तथा बित्तिय संस्थाको रकममा बेइमानी गरेनन् भने यो रसिया र युक्रेनबाट सिर्जित बिषम परिस्थितिलाई यहाँले नजरअन्दाज नगरि दिनुस्। 

अनधिकृत ढंगले मार्जिन कलको त्रास फैलाउँदै बैंक तथा बित्तिय संस्थाले लगानीकर्ताको सेयर जे मूल्यमा मन लाग्यो त्यही मूल्यमा बेचिरहेका छन्। र त बजार यो तहसम्म आई पुगेको छ। यहाँले मसक्क कम्मर कसी  बैंक तथा बित्तिय संस्थाको यो पछिल्लो रबैयालाई रोकी दिनुस्। यहाँको कद उँचो हुनेछ। 

नेपालको पूँजी बजारलाई चौतर्फि घेराबन्दी गरिँदै छ। प्रत्येक हप्ता जसो कुनै न कुनै लगानीकर्ताले आत्महत्या गरिरहेका छन्। करिब एक हप्ता अघि बुटबलका एक प्रतिष्ठित लगानीकर्ता नारायणीमा हेलिन पुगे भने हिजो मात्रै पनि एकजना लगानीकर्ता जसले देशब्यापी सेयर शिक्षा फैल्याउन मद्दत गरिरहेका थिए। उनले पनि  बिष सेवन गरेका छन्। उनको यतिखेर भेन्टिलेटरमा राखि उपचार हुँदैछ। यस्तै अवस्था रहिरहे दैनिक रुपमा यस्ता अप्रिय खबर बाहिर आउने नै छ। सेयर बजारलाई नियमन गर्नुपर्छ, यस्तै नियन्त्रण गर्दै जाने हो भने यहि अवस्था नआउला भन्न सकिन्न भनेर सम्माननीय प्रधानमन्त्रीज्यूसँगको भेटमा एक महिना अगाडि नै मैले अवगत गराएकी थिएँ। 

बिशेषगरी हामीले पनि के भन्दै आएका थियौं  भने ब्रोकर लाईसेन्सलाई प्रतिस्पर्धी बनाउन जरुरी छ। केही दिन अघि मात्रै धितोपत्र बोर्डले तीन तहको ब्रोकर लाईसेन्सको बिषयमा बोल्ड निर्णय गर्यो। त्यो निर्णय आउनासाथ अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाललाई खपिनसक्नुको टाउको दुख्यो! र, भन्न थाले यो अर्थ समितिमा छलफल गर्ने बिषय हो भनेर। के स्वायत्त निकाय धितोपत्र बोर्डले गरेको निर्णयमा कैंची चलाई हाल्नुपर्ने? हुन त  यो सतीले सरापेको देशमा यसो भन्नु नौलो बिषय चाँही होईन। 

पछिल्लो समय नेपालको पूँजी बजार बामे सर्ने युगबाट टुकुटुकु हिँड्नेसम्मको युगमा प्रबेश गर्दै गरेको कुरा आम लगानीकर्ता माझ  घाम जत्तिकै छर्लङ्ग छ। यसको वाबजुद नियामक निकायबाट बेला बेलामा “बेमौसमी बाजा”बजाई दिएको देख्दा आम लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्ने गरेको छ। उपल्लो पदमा जान मरिहत्ते गरेर पुग्ने त्यसपछि आफु भन्दा माथिल्लो तालुकदारको कुरै नसुन्ने परिपाटी हालै हाम्रो देशमा बिद्यमान छ। अझ भनौं  “डोकाले छोपेको बिरालो” जस्तो छर्लैङ्ग भएको  छ। 

आज लगानीकर्ता यति प्रताडि़त भएका छन् कि त्यसको कुनै पनि लेखाजोखा हुनै सक्दैन। गभर्नरज्यू, यो आर्थिक बर्ष सकिन अब एक हप्ता मात्रै बाँकी छ। बैंक तथा बित्तिय संस्थाहरुको रबैयाले सेयर धितो राखेर लिएको  मार्जिन कर्जाको बिषयमा ‘थाल खाउँ की भात खाउँ’ गराई राखेका छन्। यस्तो बिषम परिस्थितिमा लगानीकर्ताले असार मसान्तको ब्याज त कसरी तिरौं भनि रहेका बेला मार्जिन कलको त्रासबाट लगानीकर्तालाई झिकिदिनुस् गभर्नरज्यू, नत्र अवस्था झनै भयावह भएर जाने छ।

बैंक तथा बित्तिय संस्थाले मार्जिनको बहानामा आम लगानीकर्ताको सेयर बेचिदिँदैछन्। यस्तो सम्बेदनशील बिषयमा यहाँले लगानीकर्तालाई रेस्क्यू गर्नु पर्दैन र? यहाँ भनेको हामी सबैको भिष्म पितामह होईन? गभर्नरज्यू, बैंक तथा बित्तिय संस्थाको धम्कीपूर्ण अभिब्यक्तिबाट लगानीकर्तालाई बचाई दिनुस्। समय दिनुस् लगानीकर्ताले ऋण तिर्ने छन्। मनपरी सेयर बेच्ने छुट बैंक तथा बित्तिय संस्थालाई नदिनुस्। 

यही अवस्थामा  बैंक तथा बित्तिय संस्थालाई छोडिदिनु भयो भने ‘बाँदरले आफुले पनि घर बनाउँदैन र अरुको घर पनि देखि सहँदैन’ भनेझैँ हुने छ। त्यतिमात्रै होईन परिस्थिति यहाँले समाली नसक्नु हुने छ। गभर्नर ज्यूको काम बोल्दै हिँड्ने मात्र होइन यस बिषम परिस्थितिमा ५२ लाख लगानीकर्तालाई मार्जिनकलबाट बचाउने हो। 

गभर्नरज्यू, मेरो आग्रह छ बिलम्ब नगरि बैंक तथा बित्तिय संस्थाको धम्कीपूर्ण मार्जिनकललाई आजैबाट रोकी दिनुस्। र, असार मसान्त भित्रै अर्को ब्यवस्था नहुन्जेल ४/१२ मा लगाइएको कर्जालाई नवीकरण गरियोस् र  यसका साथै भारित औसत १०० मै कायम गरियोस्। 

–अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ ।

पैसा आउने नाका बन्द गर्ने अनि पैसा चाहियो भनेर रुने ?

'ब्रोकरलाई नै डिलरको काम जिम्मा दिनुपर्छ' : डा. चिरञ्जिवी नेपाल, पूर्व गभर्नर

अहिले ओछ्यानमुनी धेरै पैसा राखिएको छ

'सरकारको उदासिनता अचम्मको छ'

 

प्रतिक्रिया