जनमत

 देउवामाथि फलित ज्योतिषीको दवाव

फलित ज्योतिषीका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात पटक प्रधानमन्त्री हुनुपर्ने छ। अहिले देउवा पाँचौं पटकको कार्यकाल जसोतसो धानिरहेका छन्।

गृहमन्त्रीबाट सुरु भएको उनको राजकाजको यात्रा चर्चैचर्चाले सुसज्जित छ। वर्तमानको पद पनि उसैगरी राष्ट्रिय चर्चाको शीर्षस्थानमा अंकित छ। नेतृत्वसँग मतभेद बढेपछि पार्टी फोडेर अलग्गिएका देउवा त्यही पार्टीमा फर्किएर विगत करिब सात वर्षदेखि सभापति छन्। सभापति त छन् तर आफूलाई महाधिवेशनमा टक्कर दिने अर्को समूहसँग भयभीत देखिन्छन्। फरक मतहरुलाई समन्वय गरेर आफ्नै नेतृत्वमा गोलबद्घ गर्नमा देउवा असफल छन्, किन? विश्लेषकका नजरमा यो उनको राजनीतिक असफलता हो।

राजकाजमा पदार्पण गरेदेखि देउवाको राजनीतिक यात्रा त्यति सुखद देखिँदैन जति उनका आरिसेहरुले खोट देखाउँदा चर्चा गर्ने गर्छन्। पार्टी फुटाउँदा पनि र जुटाउँदा पनि शीर्षस्थान नै हात पार्न देउवा सफल त देखिन्छन्। तर, उनका अरु दुःख भने सधैं ओझेलमा पर्ने गरेका छन्। जति गरे पनि अपजस मात्र हात पर्नु देउवाको नियति नै बनेको छ भन्दा अन्यथा नहोला। हुन त यो नेपाली राजनीतिको स्थापित चरित्र नै हो। भन्नेहरुले त ‘सतीले सरापेको देश’ भनेर असफलताको कारण बनाउने गरेका छन्। आफ्ना अयोग्यता र अदूरदर्शिताबाट सिर्जित परिस्थितिको दोष ‘सती’ का जिम्मा लगाएर उम्कन त कहाँ त्यति सजिलो होला र! 

राजकाजमा हुनेगरेको पारिवारिक हस्तक्षेपले नेतृत्वलाई असफल बनाउँदै पतनको पहिलो खुड्किलोमा पु¥याइदिएका कैयौं उदाहरण इतिहासमा पढ्न पाइन्छ। नेपालमा पनि यस्ता काम नभएका होइनन्, चाहे राजतन्त्रकालमा होस् या दलतन्त्रकालमा। अहिले सभापति देउवाको शारीरिक शिथिलताको फाइदा उठाउँदै यस्तै हस्तक्षेप भैरहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। हावा नचली पात हल्लिँदैन भन्ने त उखान नै छ। कार्यकारी प्रमुख छँदा पनि हस्तक्षेपको दख्खल खप्नु भनेको एउटा नेताका लागि पक्कै पनि विषादपूर्ण अवस्था हो।

प्रधानमन्त्री देउवालाई राजकाजमा ‘सहयोग’ गरिरहेका ‘व्यवसायी नेता’ विनोद चौधरी र उमेश श्रेष्ठ जस्ता भित्रियाहरुले सत्ताले पाडो ब्याए पनि पाडी ब्याए पनि चिन्ता गर्नुपर्दैन। बजेटमा करको दर चलाउन कसले कसलाई घुसाएको थियो, त्यो घुसाउनेलाई नै थाहा होला। मध्यरातको त्यो चलखेल चौधरी र श्रेष्ठले थाह पाउनैपर्छ भन्ने पनि छैन। तर ‘थाहै नपाएका’ प्रधानमन्त्री देउवाका शिरमा त्यो दोष बजारिन पुग्यो। यो र यस्तै अरु कामकाजमा जे भए पनि राजकाजको प्रभाव बढ्दै जानुको साटो मलिन हुँदै गएको कुरा भने प्रधानमन्त्रीका सार्वजनिक सहभागितामा प्रष्टसँग महसुस गर्न थालिएको छ।

प्रधानमन्त्री के साँच्चै नै अशक्त हुँदै गएका हुन् त? यसको आधिकारिक जानकारी दिन कुनै सूत्र  फेला नपरे पनि सामान्य आँखा र कानले पनि प्रधानमन्त्रीको शिथिलता राम्रैसँग ठम्याउन सक्छ भनेर उनीसँगै सार्वजनिक सभामा सहभागिता जनाएका मानिसहरु सुनाउँछन्।

भारतीय प्रधानमन्त्री बुद्घ जयन्ती मनाउन लुम्बिनी आउँदा प्रधानमन्त्री देउवालाई तन्दुरुस्त देख्न नपाएकामा धेरै नेपाली दुःखी भए। उमेर बढ्दै जाँदा पनि मानिस सँधै तन्दुरुस्त भैरहनु पर्छ भनेर लिँडेढिपी गर्न सकिँदैन। सबैमा एउटै सिध्दान्त लागू हुन पनि सक्दैन। त्यसपछिका कतिपय सार्वजनिक सभाहरुमा समेत प्रधानमन्त्री देउवाको शारीरिक असक्तता नझल्किएको भने होइन।

हालै नेपाल ट्रेड युनियन कांग्रेसले उसको प्रधान कार्यालयमा स्थापना गरेको संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्न पुगेका प्रधानमन्त्री देउवाले अभिव्यक्त गरेका शब्दहरु कुम जोडेर बसेका अर्का सहभागीले समेत बुझ्न सकेनन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सभाकक्षका सहभागीले पनि हालै यस्तै अनुभव गरेका थिए।

प्रधानमन्त्रीको अवस्था कस्तो छ भनेर यति नै यथेष्ट उदाहरण हुनसक्छन्। प्रधानमन्त्री देउवालाई पदबाट हटाउनुपर्छ भनेर यति धेरै चर्चा गर्नुपरेको पनि होइन। तर, देशको कार्यकारी प्रमुख पदमा आसिन नेता स्वयं अशक्त हुँदै गएको छ भने उसका उत्तराधिकारी र दलका नेताले यसबारेमा गम्भीर विचार विमर्श गर्नुपर्ने हो कि होइन? प्रश्न यतिमात्र हो। ७६ वर्षका नेतालाई फलित ज्योतिषीले घोषणा गरिदिएकै आधारमा जबर्जस्ती प्रधानमन्त्री पदमा बसाइरहनु पनि सहयोगीहरुको गल्ती हो। के नेपाली कांग्रेस विकल्प नै दिन नसक्ने पार्टी हो त? होइन भने किन वृद्घ नेतालाई प्रधानमन्त्री बनिरहन दबाब दिएर सजाय दिइरहेको छ त?

प्रधानमन्त्रीको यो अवस्थाको फाइदा उठाउँदै उनका अनुचरहरुले पार्टीभित्र पूर्वाग्रहको छडी चलाइरहेको पनि चर्चा सुन्न पाइन्छ। स्थानीय तहको निर्वाचनमा टिकट वितरणदेखि पार्टीका विभागहरु गठन गर्दा समेत यस्तो एकांगी व्यवहार गरेको भुक्तभोगीहरु सुनाउँछन्। एकजना नेताले सुनाए अनुसार, पार्टी फुट्दा आफ्नो साथमा रहेका नेता–कार्यकर्तालाई सबै तहमा अवसर दिएर देउवा र उनको कोटरीले बदला लिइरहेका छन्। बरु वामपन्थी दललाई काँधमा बोक्ने तर आफ्नै दलभित्रका विपक्षीलाई थिचिरहने देउवा पक्षको रणनीति छ। सरकारमा होस् कि पार्टीमा होस् देउवाले यस्तै व्यवहार गरिरहेको अनुभवीहरुको भनाइ  छ। 

प्रधानमन्त्रीको असक्तताको फाइदा उठाउँदै ‘किचन क्याबिनेट र नवप्रवेशी व्यवसायी नेता’ ले राज्य सन्यन्त्रको भरपूर उपयोग गरिरहेको एकजना पूर्व सचिवले टिप्पणी गरेका छन्। उनको भनाइ छ, ‘यस्तो शिथिल अवस्थामा पुगिसकेका देउवालाई विश्राम गर्न दिएर अर्को नेतालाई प्रधानमन्त्री बनाउँदा के बिग्रन्छ?’ के नेपाली कांग्रेसले यति पनि विकल्प दिन नसक्ने हो र भन्छन् ती पूर्व सचिव।

सुनिए अनुसार प्रधानमन्त्री देउवा निकट भविष्यमा अमेरिका जाँदैछन्। एमसीसी अनुमोदनपछि त्यता जान लागेका प्रधानमन्त्रीको सार्वजनिक प्रस्तुतिले नेपालको प्रतिष्ठा र छविमा ठूलै अर्थ राख्ने छ। हाल देखिएको शिथिलता न्यूनीकरण गरेर प्रधानमन्त्रीलाई तन्दुरुस्त बनाउन सकिए त राम्रै हो। तर, यही अवस्था यथावत रहेमा संसारको आँखा पर्ने तहको भ्रमणमा कस्तो असर पर्ला भनेर के प्रधानमन्त्री देउवाको पार्टी, परिवार र सहयोगीले सोचेका छन्?

यी सबै पक्षलाई नियाल्दा प्रधानमन्त्री पदमा यही अवस्थामा रहिरहनु देउवा स्वयंका लागि पनि त्यति न्यायसंगत हुने देखिँदैन। त्यसैले नेपाली कांग्रेसका अरु पदाधिकारी र नेताहरुले सभापति देउवालाई विश्राम गर्न सुझाएर प्रधानमन्त्रीको विकल्प दिन बिलम्व गर्नु हुँदैन। यही नै देश र जनताको लागि प्रसन्नताको विषय हुनसक्छ। अन्यथा, देउवालाई प्रधानमन्त्री बनिरहन बाध्य पारियो भने त्यसले दूरगामी रुपमा सबैतिर असर पर्न सक्छ।

 
 

प्रतिक्रिया