अफगानिस्तानमा भूईंचालोबाट मर्नेको संख्या १००० नाघ्यो (भिडियोसहित)

काबुल। अफगानिस्तानमा बुधबार बिहान गएको भूईंचालोमा ज्यान गुमाउनेको संख्या एक हजारभन्दा बढी पुगेको छ। 

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार बिहान १० बजे अफगानिस्तानको खोस्त शहरभन्दा ४० किलोमिटर टाढा भूईंचालोको केन्द्र मापन गरिएको थियो। भूईंचालो ६ दशमलव १ रेक्टर स्केलको थियो। 

युरोपेली मेडिटरेनियन सिस्मोलोजिकल सेन्टरले भूईंचालोको असर ५ सय किलोमिटर टाढासम्म महसुस गरेको बताएको छ। अफगानिस्तान मात्र नभएर, छिमेकी पाकिस्तानमा पनि भूईंचालोको धक्का महसुस गरिएको थियो। 

 

भूईंचालो गएको स्थान वरिपरि बिहानैदेखि सेनाको टोली उद्दार कार्यमा सक्रिय भएको थियो। यस्तै, अफगान सरकारले इमरर्जेन्सी एजेन्सीसँग सहयोगको अपील गरेको छ। 

सरकारी प्रवक्ता बिलाल करिमीले ट्वीट गर्दै भने, ‘दुर्भाग्यको कुरा हिजो राती पक्तिका प्रान्तको ४ वटा जिल्लामा ठूलो भूईंचालो गयो। जसमा सयौं देशवासीको निधन भएको छ भने यही संख्यामा घाइते पनि भएका छन्। दर्जनौं घर ध्वस्त भएका छन्। हामी सबै इमर्जेन्सी एजेन्सीलाई अपील गर्न चाहन्छौं। विध्वन्स रोक्न यो क्षेत्रमा आफ्नो टोली पठाउनुहोस्।’

बिहान अफगानिस्तानको सरकारी न्युज एजेन्सीका रिपोर्टर अब्दुल वाहिद रायनले ट्वीट गर्दै बताए, पक्तिका प्रान्तको बरमल, जिरुक, नाका र ज्ञान जिल्लामा मर्नेको संख्या २ सय ५५ पुगेको छ। घाइतेको संख्या १ सय ५५ छ। जमीनमा पुरिएका मानिसको उद्दारका लागि सुरक्षाकर्मी हेलिकोप्टरमा घटनास्थल पुगेका छन्। 

पाकिस्तानको रावलपिण्डी, इस्लामाबाद, पेशावर र मुल्तानमा पनि भूईंचालोको झट्का महसुस गरिएको थियो।  
 

प्रतिक्रिया