१२ सन्तान जन्माउने ३३ वर्षकी आमा

वासिङ्टन। अमेरिकाको न्यु म्याक्सिकोमा बसोबास गर्ने ३३ वर्षीय एक आमाले १२ जना बच्चालाई जन्म दिइसकेकी छिन्। आउँदो वर्ष मार्चमा उनी १३ औं बच्चाकी आमा बन्दैछिन्।  

ब्रिटनी चर्च र उनका श्रीमान क्रिस रोजर्सले हरेक वर्ष बच्चा जन्माउने योजना बनाएका छन्। यो परिवारको खर्च नै यति ठूलो छ कि केटाकेटीलाई दुध ख्वाउन मात्र प्रत्येक दिन २ सय डलर खर्चिनु पर्छ। 

ब्रिटनी घरमा केटाकेटीको स्याहारसुसार गरेर बस्छिन् भने उनको श्रीमान चर्चका पादरी हुन्। यिनीहरूबाट ७ छोरा र ५ छोरी जन्मिएका छन्। दुवैको नाम जस्तै केटाकेटीको नाम पनि ‘सी’ अक्षरबाट सुरु हुन्छ। जसमा दुई जना जुम्ल्याह छन्। अब जन्मिने बच्चाको नाम पनि उनीहरू ‘सी’ अक्षरबाटै राख्न चाहन्छन्। 

12 children1

ब्रिटनीलाई सन् २००४ मा पहिलो सन्तान प्राप्त हुँदा उनको उमेर १६ वर्ष थियो। यसलगत्तै उनले सन् २०१३, २०१७ र २०२२ लाई छोडेर सन्तान प्राप्त गर्दै आइरहेकी छिन्। ‘मलाई लाग्छ, मैले गरेर देखाए,’ ब्रिटनीले अमेरिकी मिडियाहरूसँग हास्दै भनेकी छिन्, ‘सधै हल्ला हुन्छ। चिच्याउँछन्। तर, हाम्रो लागि यो सामान्य भइसकेको छ।’

ब्रिटनी सोसल मिडिया टिकटकमा हिट छिन्। कहिले काहिँ बढी सन्तान जन्माएकोमा उनको आलोचना पनि हुने गर्छ। तर, टिकटकमा मात्र उनको १८ लाख फलोअर्स छन्। 

 

उनले यति धेरै सन्तान जन्माउनुको पछाडि पनि कारण भएको बताएकी छिन्। ‘एक दर्जन बच्चा भयो भने हाम्रो परिवार पूर्ण हुन्छ भन्ने ठान्यौं। यस्तै, हामीले जन्माएको हरेक बच्चाले आफूसँग खेल्न फेरि अर्को बच्चाको माग गर्न थाले। उनीहरू मलाई ममी एउटा अझै बेबी भन्छन्,’ उनले भनिन्, ‘हामी त उनीहरूको माग पुरा गरिरहेका छौं।’

ब्रिटनीले आफू १४ वर्षको हुँदा पहिलो पल्ट आमा बन्न लागेको तर बच्चा गिरेको बताइन्। ‘म घरमा केटाकेटीको ध्यान राख्छु। म काममा हुँदा ठूलो सन्तानले भाईबहिनीको हेरविचार गर्छन। यसले सहज भएको छ,’ उनले भनिन्। 

यो जोडीले घरमै आफ्नो सन्तानलाई पढाइरहेका छन्। अब उनीहरू ठूलो भइसकेका सन्तानलाई अनलाइन क्लास तथा डिस्टेन्स लर्निङबाट पढाउने योजनामा छन्। 
 

प्रतिक्रिया