पब्जी खेल्न नदिएको झोकमा भारतमा छोराद्वारा आमाको हत्या

बीबीसी । चर्चित अनलाइन खेल पब्जी खेल्न नदिएको झोकमा भारतमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमाको हत्या गरेका छन् । घटना उत्तर प्रदेशको लखनऊमा पर्ने यमुनापुरम कोलोनीमा भएको प्रहरीले जनाएको छ ।

हत्यामा प्रयोग गरिएको पेस्तोल प्रहरीले बरामद गरेको छ। क्षतविक्षत अवस्थामा महिलाको शव मङ्गलबार फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोस्टमोर्टमका लागि शव अस्पताल पठाइएको छ भने किशोरलाई हिरासतमा लिइएको छ। प्रहरीलाई उदृत गर्दै पीटीआईले जनाएअनुसार किशोरले आमाको हत्या गरेपछि शवलाई दुई दिनसम्म कोठाभित्रै राखेका थिए ।

आमालाई गोली हान्ने बेला उनकी नौ वर्षीया बहिनी पनि त्यही थिइन् । तर किशोरले घटनाबारे कसैलाई बताएमा ठिक नहुने भन्दै बहिनीलाई चेतावनी दिएका थिए । शवबाट दुर्गन्ध आउन थालेपछि किशोरले ’रुम फ्रेशनर’को प्रयोग गरेको बताइएको छ ।

भारतले चीनमा विकसित ११८ वटा मोबाइल एपमाथि दुई वर्षअघि प्रतिबन्ध लगाएकोमा पब्जी पनि एउटा थियो । तर त्यो प्रतिबन्ध मोबाइल भर्सन अर्थात् मोबाइलमा चलाउन मिल्ने मात्र प्रतिबन्धित रहेको पाइयो । रिपोर्टहरूका अनुसार डेस्कटप भर्सन चाहिँ उपलब्ध थियो । मोबाइलमा पनि पब्जी भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनको प्रयोग गरी खेल्न सकिन्छ।


 

प्रतिक्रिया