भारतका चार शहरमा आत्मघाती हमला गर्ने अलकायदाको धम्की

दिल्ली। आतंकवादी संगठन अल–कायदाले राजधानी दिल्ली, मुम्बईसहित उत्तर प्रदेश र गुजरातमा आत्मघाती बम बिस्फोट गराउने चेतावनी भारत सरकारलाई दिएको छ। मुस्लिमहरूको भगवान पैगम्बर मोहम्मदको विषयमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) की प्रवक्ता नुपुर शर्माले एक साताअघि दिएको विवादित बयानपछि मुस्लिम देशहरू अहिले भाजपा र भारत सरकारप्रति असन्तुष्ट देखिएका छन्। 

शर्माको बयानलाई लिएर भाजपा मात्र होइन, भारत सरकारले पनि स्पष्टीकरण दिइसकेको छ। पार्टीले शर्मालाई ६ वर्षका लागि निलम्बित पनि गरिसकेको छ। तर, मुस्लिम देशहरू विवादित बयानलाई लिएर अझै असन्तुष्ट देखिएका छन्। खाडी मुलुकहरूले आफ्नो देशको सुपर मार्केटमा भारतीय समान बेच्न नदिने फैसलाको भोलि पल्ट अल–कायदाले धम्की दिएको हो। 

उसले एउटा चिट्ठी सार्वजनिक गर्दै भारतलाई धम्की दिएको छ। अल–कायदा इन द सबकन्टिनेन्ट (एक्युआइएस) बाट जारी चिट्ठीमा भनिएको छ, ‘यदी हामीले पैगम्बर साहेबको अपमानको बदला लिन सकेनौं भने हाम्री आमाले हाम्रो अनुहार दोहर्याएर हेर्ने छैनन्।’

al-qaeda

६ जुनमा जारी पत्रमा आफ्नो छोराछोरीको शरीरमा विस्फोटक बाधेर पठाउने र दिल्ली, मुम्बई, युपी र गुजरातका भगवाधारीको अन्त्य गर्ने बताइएको छ। ‘न उनीहरू आफ्नो घरमा लुक्न सक्ने छन्, न सेनाले नै उनीहरूलाई बचाउने छ,’ पत्रमा उल्लेख छ। 

एउटा टेलिभिजन कार्यक्रममा शर्माले पैगम्बर मोहम्मदको विषयमा आपत्तिजनक टिप्पणी गरेकी थिइन। यसको मुस्लिम समुदायले भारतभित्र मात्र होइन, विश्वभरी छरिएर बसेका सबैले विरोध गरेका छन्। शर्माले आफ्नो बयानलाई तोडमोड गरेर देखाइएको भन्दै आफ्नो सुरक्षा गर्न खोजेकी थिइन। तर, मुस्लिम समुदायको आक्रोस बढेपछि उनलाई पार्टीले निलम्बन गर्नुपर्यो।

शर्माविरूद्ध महाराष्ट्रसमेत थुप्रै राज्यमा मुद्धा दायर भएको छ। उनलाई मार्ने धम्की आएपछि सरकारले सुरक्षा पनि बढाएको छ। 

यो विषयमा ५७ वटा मुस्लिम देशको संगठन इस्लामिक सहयोग संगठन (ओएलसी) ले विरोध जनाइसकेको छ। इरान, इराक, कुवेत, कतार, साउदी अरब, ओमान, युएई, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया, इन्डोनेशिया, टर्की, मलेसिया र पाकिस्तानमा विरोध प्रदर्शन पनि भएका छन्। 
 

प्रतिक्रिया