अस्ट्रेलियाले डिसेम्बरबाट विदेशी विद्यार्थी स्वागत गर्ने

 


काठमाडौं । अस्ट्रेलियामा पढन जान आतुर नेपाली बिद्यार्थीमा यतिबेला खुसीयाली छाएको छ । यसको कारण हो, अब उनीहरु अस्ट्रेलिया पढन जान पाउने छन् ।


अस्ट्रेलियाको चर्चित नेपाली अनलाइन ‘एएनजेड खबर’का सम्पादक प्रकाश हुमागाईले सिडनीबाट दृश्यटिभीलाई जानकारी दिए अनुसार यहि डिसेम्बरबाट अष्ट्रेलियाको अन्र्तराष्ट्रिय सिमा खुल्ने भएको छ ।
१६ वर्षभन्दा माथिका दुबै खोप लगाउने मानिसहरुको संख्या ८५ प्रतिशत कटनासाथ अष्ट्रेलियाले यो खुसीको खबर दिएको हो, जसबाट सबैभन्दा बढी खुसी विद्यार्थीहरुमा छाएको छ ।


प्रधानमन्त्री स्कट मोरिसनले पत्रकार सम्मेलनमार्फत डिसेम्बर १ देखि कोरोनोको पुरै मात्रा खोप लगाएकाहरुले अस्ट्रेलिया प्रवेश गर्न पाउने घोषणा गरेका छन् ।


‘अस्ट्रेलियामा पूर्ण मात्रा खोप लगाएका १६ वर्षभन्दा बढी आयु बर्गका मानिसको संख्या ८५ प्रतिशतभन्दा बढी भएको छ । यो एउटा जर्बदस्त उपलब्धी हो, यसको अर्थ हामी विश्वको उच्चतम खोपकरण दर भएका मुलुकमध्ये एक हुने बाटोमा छौं’, मोरिसनले भनेका छन् ।


विद्यार्थी, दक्ष कामदार, शरणार्थी र बिदामा गएका कामदारलगायतका भिषावाहकलाई अष्ट्रेलिया आउनसक्ने प्रधानमन्त्री बताए । उनले भने, ‘केही महिनामै यस्ता दुइ लाख व्यक्ति अस्ट्रेलिया आउनेछन् ।’


प्रधानमन्त्रीका अनुसार मुख्य प्राथमिकतामा विद्यार्थी र दक्ष कामदार छन्, जसको आगमनले अस्ट्रेलिया सामान्य अवस्थामा फर्कन सहयोग हुनेछ ।


‘अस्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थी आगमन अपरिहार्य छ’, मोरिसनले भने, ‘हामी उनीहरुको स्वागतका लागि तयार छौं । ’


यो निर्णयसँगै नेपाललगायत विश्वका डेढ लाख बढी विद्यार्थीलाई राहत मिलेको छ, जो अष्ट्रेलिया आउन आतुर थिए । अस्ट्रेलिया प्रवेश गर्नेहरुसँग कोरोनो नेगेटिभको प्रमाणपत्र हुनुपर्नेछ । कतिपय राज्यमा क्वारेन्टीनमा बस्नु परे पनि न्यू साउथवेल्स, भिक्टोरिया र अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा आउनेहरुले चाहिँ क्वारेन्टाइनमा बस्नुपर्नेछैन ।


कोरोना महामारीपछि करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा पढन जानबाट बन्चीत थिए । अब उनीहरु अस्ट्रेलियाकै विश्व विद्यालयमा प्रत्यक्ष पढन पाउने प्रकृया सुरु भएको हो ।

प्रतिक्रिया