भारतमा आप पार्टीको भ्रष्टाचारविरूद्ध ठूलो ‘एक्सन’, स्वास्थ्य मन्त्री बर्खास्त

काठमाडौं। भारतको पञ्जाब राज्यमा सरकार बनाएको तीन महिना नबित्दै सत्ताधारी आम आदमी पार्टी (आप) ले ‘कमिसनखोर’ स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेको छ। 

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले दुई महिनाअघि डा. विजय सिङ्गलालाई राज्यको स्वास्थ्य मन्त्री बनाएका थिए। तर, टेण्डरलगायत अन्य काममा १ प्रतिशत कमिसन मागेको भन्दै उनीविरूद्ध उजुरी मुख्यमन्त्रीसमक्ष पुगेको थियो। 

मुख्यमन्त्री भगवन्तले गोप्यरूपमा पहिले यसको छानवीन गर्न लगाएका थिए। यसबीच उनले अधिकारीहरूसँग सोधपुछ पनि गरे। यसपछि मन्त्री सिङ्गलासँग सोधपुछ गर्दा उनले कमिसन मागेको स्वीकार गरेपछि पदबाट बर्खास्त गरिएको हो। 

मन्त्री सिङ्गलाविरूद्ध पञ्जाव पुलिसको भ्रष्टाचारविरोधी विभागले मुद्दा दायर गर्दै नियन्त्रणमा लिइसकेको छ। उनलाई आप पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्काशन गर्ने तयारी भइरहेको छ। 

पञ्जाव आप पार्टीका प्रवक्ता मालविन्दर कंगले भनेका छन्, ‘दागी व्यक्तिको पार्टीमा कुनै स्थान छैन।’ बर्खास्तमा परेका मन्त्री सिङ्गलाले कुनै प्रतिक्रिया जनाएका छैनन्।
 
मुख्यमन्त्री भगवन्त भन्छन्, ‘म समक्ष एउटा मुद्दा आयो। जसमा मेरो सरकारका एक मन्त्री हरेक टेण्डर र विभागको खरिदमा १ प्रतिशत कमिसन मागिरहेका थिए। विरोधी पार्टी र मिडियाले यसलाई मुद्दा बनाउनुअघि नै मैले उनीविरूद्ध कार्यवाही गरेको छु। उनलाई पदबाट बर्खास्त गरिएको छ। प्रहरीमा यसको उजुरी पनि दर्ता भएको छ।’

मुख्यमन्त्री भगवन्तको निर्णयप्रति पार्टी अध्यक्ष अरविन्द केजरीवालले खुसी जनाएका छन्। उनले आफ्नो सोसल मिडियामार्फत भगवन्तप्रति आफू गर्वान्वित भएको बताए। ‘तिम्रो निर्णयले मेरो आँखाबाट आशु आएको छ। पुरै देश यतिबेला आपप्रति गर्वित भएको छ,’ उनले लेखेका छन्। 

मुख्यमन्त्री भगवन्तले पनि यसको जवाफ दिँदै भनेका छन्, ‘आम आदमी पार्टीको जन्म नै इमान्दार सिस्टम कायम गर्न भएको हो। अरविन्द केजरीवालले भन्नुभएको छ, भ्रष्टाचार बर्दास्त हुँदैन। चाहे त्यो आफ्नो होस् वा पराई।’
 

प्रतिक्रिया