ए फूल,  तिमी को हौ ?

अप्सराको शीरमा तिमी नचढी

न सौन्दर्यमा निखार आएको छ

न त इन्द्रको दरबार नै मगमगाएको छ,

तिम्रो रुपको वर्णन गर्ने शब्दहरु

, बखान गर्ने भाषाकै कमी भैरहेको छ

ए फूल, तिमी को हौ ?

 

चानचुन एक धार्नी माटोमा

अँटेकी छ्यौ गमलामा,

जल, मल र करकमलको छैन कुनै परवाह

सुवासले यत्तिकै मगमगाएकी छ्यौ

जगमगाएकी छ्यौ सौन्दर्यले

तिमीलाई छोएर बग्न लालायित छ पवन

लोभी भँवरा र कंजुसलुच्चा मनुष्य आँखाहरु

चुम्न, लुट्न र निमोठ्न चाहन्छन् तिमीलाई,

तिमी भने मग्न छौ मुस्कुराएकी

उदात्त हाँसो खित्का नछाडि

तिमी सर्वत्र छाएकी छ्यौ,

तिम्रो सीमापार सौन्दर्यको आभाले

मलाई असह्य आनन्द महसुस भैरहेको छ,

भन त,

ए फूल, तिमी को हौ ?

 

तिमीलाई स्वच्छन्द मुस्कानको झरना पठाउने

को लुकेको छ उ माथि त्यो आकाशमा

गमला नै ब्रम्हाण्ड ठानेरमानेर फैलिने

कसले उपहार पठाएको तिमीलाई धैर्यको !

 

जमिनको कुनै पनि आयतनले असन्तुष्ट

म मान्छे

धरती उधिनी रहेको छु

माटो खन्याएर सागरमहासागर पुरिरहेको छु

चन्द्रमामा ओर्लि नै सकें

ग्रहहरुमाथि निगरानी बढाएकै छु

तर.. तर किन हाँस्न सकिरहेको छुइन

म तिमी जस्तै ?

कसले खोसिरहेको छ मेरो प्रशन्नता

किन उदाउँदैन मेरो आकाशमा चन्द्रमा

औंसीले पर क्षितिजसम्म ढाकेको छ ।

 

तिमी भने असीमित हर्ष र सौन्दर्यले छताछुल्ल

आकाशका ताराहरुलाई समेत प्रकाशरहित बनाउने

भन त भन

ए फूल, तिमी को हौ ?

 

 

प्रतिक्रिया