तीब्र गतिमा ब्याटिङ गर्ने साइमण्ड्सको कार दुर्घटनामा निधन

सिड्नी। क्रिकेट समर्थकका लागि आज सबैभन्दा दुःखको दिन! अस्ट्रेलियाका पूर्व क्रिकेटर तथा बिस्फोटक ब्याटिङका पर्याय एण्ड्रयु साइमण्ड्सको सडक दुर्घटनामा निधन भएको छ। शनिबार राती १० बजेर ३० मिनेटमा टाउन्सविलमा भएको कार दुर्घटनामा उनको निधन भएको हो। 

क्वीन्सल्याण्ड प्रहरीका अनुसार शहरभन्दा ५० किलोमिटर पश्चिम पर्ने हर्वे रेजमा तीब्र गतिमा दौडिएको कार पल्टिन पुगेको थियो। जुन कार साइमण्ड्सले चलाएको बताइएको छ। प्रहरीले सडक दुर्घटना एलिस नदीको पुल नजिकै भएको बताएको छ। गम्भीर घाइते साइमण्ड्सलाई अस्पतालमा चिकित्सकहरूले जोगाउने प्रयास गरे पनि असफल भए।
 
४६ वर्षको अल्पआयूमा साइमण्ड्सको दुःखद निधन भएको भन्दै क्रिकेटरहरूले शोक प्रकट गरेका छन्। अस्ट्रेलियाका पूर्व विकेटकिपर एडम गिलक्रिष्टले सोसल मिडियामा भनेका छन्, ‘निकै दुःखद!’ अस्ट्रेलियाका पूर्व कप्तान मार्क टेलरले क्रिकेटका लागि दुःखद दिन भनेका छन्। पाकिस्तानका पूर्व तीब्र बलर सोएब अख्तरले मैदानभित्र र बाहिर आफूसँग गहिरो सम्बन्ध भएको भन्दै दुःख व्यक्त गरे। 

यही वर्ष अस्ट्रेलियाका तीन खेलाडीको निधन भएको छ। यसै वर्ष रोड मार्श र सेन वार्नको निधन भएको थियो। वार्नको थाइल्याण्डस्थित एउटा फार्म हाउसमा ह्रदयघातका कारण निधन भएको थियो। 

अलराउण्डर साइमण्ड्सले २६ टेस्टमा ४० दशमलव ६१ को औसतले १४ सय ६२ रन बनाएका थिए। उनले २४ विकेट पनि लिएका थिए। १९८ एकदिवसीयमा उनले ५ हजार ८८ रन ३९ दशमलव ७५ को औसतले बनाएका थिए। यहाँ १३३ विकेट लिन सफल भएका थिए। १४ टि–२० मा ४८ दशमलव १४ को औसतले ३३७ रन बनाउनुका साथै ८ विकेट लिएका थिए। 

प्रतिक्रिया