के होला अब अञ्जन र तेजको विदेशी क्लबसँगको लाखौं रुपैयाँको ‘कन्ट्र्याक्ट’?

काठमाडौं। घाइते रोहित चन्दलाई राष्ट्रिय टोलीको ‘क्लोज क्याम्प’ मा राख्नुपर्ने अडानसहित बाहिरिएका ९ खेलाडीको भविस्य अब के हुने हो? यसमा सबैको चासो जानु स्वभाविक हो। तर, यसमा पनि दुई खेलाडीको व्यवसायिक खेल जीवनले गम्भीर मोड लिने सम्भावना देखिएको छ। 

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले निकै विश्वास गरेर फरवार्ड अञ्जन बिष्ट तथा मिडफिल्डर तेज तामाङलाई कुवेती क्लबमा आवद्ध गर्ने प्रक्रिया अगाडि बढाएका थिए। तर, प्रशिक्षकसँग सोझै झगडामा उत्रिएपछि अञ्जन र तेजको विदेशी क्लबसँगको व्यवसायिक अनुबन्ध अब के हुने हो? संशय खडा भएको छ। 

तेजलाई मासिक ७ हजार अमेरिकी डलर तथा अञ्जनलाई ६ हजार अमेरिकी डलरमा अनुबन्धन गराउन अल–मुताइरीले प्रक्रिया अगाडि बढाइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) सबद्ध श्रोतले दृश्यटिभीलाई जानकारी दियो। 

‘कुवेतमा एसिया कपको छनोट खेल्न जाँदा त्यही कन्ट्रयाक्ट गराउने योजना थियो। तर, सबै भताभूंग हुन्छ जस्तो लागिरहेको छ,’ एन्फा श्रोतले बतायो। 

अल–मुताइरीले आफ्नो निजी जीवनमा हस्तक्षेप गरेको आरोप लगाउँदै बिहीबार पत्रकार सम्मेलनमा खेलाडीहरूले आलोचना गरेका थिए। यसअघि पर्याप्त सुविधा नपाएको भन्दै खेलाडीहरूले ‘वल्र्ड ट्रेड सेन्टर’ मा रहेको होटल छोडेको खबर बाहिरिएको थियो। 

तर, एन्फा सम्बद्ध श्रोतले रोहित घाइते भएका कारण उनी रिहाबमा हुँदा पनि खेलाडीहरूले प्रशिक्षकलाई निरन्तर दबाब दिएपछि अल–मुताइरी रिसाएको बताएको छ। ‘खासमा कुरा सुविधाको होइन। रोहितलाई टिममा राख्नुपर्ने दबाब खेलाडीले दिन थालेका थिए। प्रशिक्षक घाइते अवस्थामा उसलाई कसरी टिममा राख्ने भन्ने कुरामा अडिग थिए। यही कुरामा असमझदारी भएको हो,’ राष्ट्रिय टोलीका एक पदाधिकारीले दृश्यटिभीलाई बताए। 

आफूले निकै माया गरेका खेलाडीहरूले ‘बिद्रोह’ गरेपछि अल–मुताइरीले ३५० जना खेलाडीको ‘क्लस्टर’ बनाएका छन्। उनले ‘ए’, ‘बी’, ‘सी’ र विदेशमा खेलिरहेका नेपालीमुलका खेलाडीहरूको भिडियो क्लिप हेरेर उनीहरूलाई क्लोज क्याम्पमा बोलाउन सुरु गरेका छन्। 

खेलाडी र प्रशिक्षक विवादमा दुवै आ–आफ्नो अडानमा छन्। बिहीबार खेलाडीले गरेको पत्रकार सम्मेलनमा अल–मुताइरीको प्रशिक्षणमा आफूले खेल्न नसक्ने बताएका थिए। अल–मुताइरी पनि एसिया कप छनोट अघि नयाँ टिम लिएर अगाडि बढ्ने सोचमा देखिएका छन्।    
   
 

प्रतिक्रिया