प्रशिक्षक - खेलाडि विवाद

किरणको विकल्पमा राष्ट्रिय टोलीमा भारतीय आर्मीका गोलकिपर भित्र्याउने तयारी

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका ९ खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीविरूद्ध गरेको बिद्रोहमा गोलकिपर किरण चेम्जोङले साथ दिएपछि उनको विकल्पको रूपमा भारतको आर्मी टिमबाट खेलिरहेका भवीन्द्र मल्ल ठकुरीलाई बोलाउने तयारी गरिएको छ। 

राष्ट्रिय फुटबल टोलीका ९ खेलाडी गत मंगलबार राती कसैलाई जानकारी नदिई होटलबाट बाहिरिएका थिए। उनीहरूले प्रशिक्षक अल–मुताइरीले आफूहरूलाई दूब्र्यवहार गरेको आरोप लगाएका छन्। 

अल–मुताइरीविरूद्ध खेलाडीले बिद्रोह गरेको विषयलाई माल्दिभ्समा व्यवसायिक लिग खेलिरहेका राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणले साथ दिएका थिए। उनले आफ्नो फेसबुकमा भनेका छन्, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टी छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु। जय नेपाल।’

प्रशिक्षक अल–मुताइरी खेलाडीहरूले बिना सूचना ९ बजे राती होटल छोड्ने निर्णय गरेर ‘ग्रुपिजम’ गर्न लागेको भन्दै अनुशासनको कार्यवाहीमा अडिग छन्। उनी अनुशासनहिन काममा किरणले पनि साथ दिएकोमा चकित मात्र परेका छैनन्, राष्ट्रिय टोलीको पुरै सेट परिवर्तन गर्ने सोचमा छन्। 

गोलकिपरका लागि भारतीय आर्मीको रेड फुटबल टिममा ५ वर्ष आवद्ध भवीन्द्र मल्ल ठकुरीलाई भित्र्याउने प्रक्रिया सुरु गरिसकेका छन्। २९ वर्षका भवीन्द्र भारतीय सेनामा कार्यरत गोर्खालीका छोरा हुन्। उनको जन्म मेघालयमा भएको थियो। भवीन्द्रको  पुर्ख्यौैलि घर लम्जुङ हो।

‘अहिले सबै कुराको अध्ययन भइरहेको छ,’ एन्फा श्रोतले दृश्यटिभीलाई बतायो। 
 

प्रतिक्रिया