एक क्रिकेटरको अनौठो जीवन कथा

कुनै बेला आत्महत्या गर्ने सोचमा थिए, अहिले चर्चाको शिखरमा  

काठमाडौं। कुनै बेला उनी आत्महत्या गर्ने सोचमा पुगिसकेका थिए। तर, अहिले सम्हालिएका छन्। उनी यतिबेला सम्हालिएका मात्र छैनन्, अझ नयाँ स्वरूपमा देखा परेका छन्। 

दिनेश कार्तिक, भारतीय क्रिकेट टिमका पूर्व विकेटकिपर–ब्याट्सम्यान। जो इन्डियन प्रिमियर लिग (आइपीएल) को यो सत्रमा गजबको फर्ममा देखिन्छन्। ३६ वर्षका यी ब्याट्सम्यानको एक्लो प्रयासमा रोयल च्यालेञ्जर्स बेङ्लोर (आरसीबी) ले उम्दा प्रदर्शन गरिरहेको छ। यो उमेरमा अन्य खेलाडीहरू सन्यास लिने सोचमा हुन्छन् तर उनको प्रदर्शन थप निखारिदै गएको छ। आज उनी जुन स्थानमा छन्, उनको लागि त्यो ठाउँमा पुग्ने बाटो त्यति सहज थिएन। 

Kartik d

कुनै बेला मिल्ने साथी र आफ्नै श्रीमतीले उनलाई धोका दिएकी थिईन्। जसका कारण उनको जीवन नर्क बनेको थियो। तनावका कारण उनले आत्महत्या गर्ने सोच समेत बनाएका थिए। 

सन् २००७–११ को बीचमा महेन्द्रसिंह धोनीपछि भारतीय टिमको पहिलो रोजाईमा दिनेश कार्तिक पर्थे। धोनीले विश्राम लिएको खेलमा उनले नै विकेट पछाडि भारतीय टिमको कमान सम्हाल्थे। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण उनलाई तमिलनाडु टिमको कप्तान नियुक्त गरिएको थियो। तर, पछि एउटा घटनाले उनको यो सबै उपलब्धी समाप्त भयो। 

दिनेशले सन् २००७ मा आफ्नो बालसखा निकिता बञ्जारासँग बिहे गरेका थिए। तर, बिहेको केही वर्षभित्रै टिमका अन्य सदस्य तथा दिनेशका मिल्ने साथी मुरली विजयसँग निकिताको ‘अफेयर’ चल्यो। उनी मुरलीको बच्चाको आमा बन्ने अवस्थामा पुगिसकेकी थिइन्। यो कुरा दिनेशबाहेक टिमका अन्य साथीहरूलाई थाहा थियो। पछि निकिताले नै मुरली विजयसँग आफ्नो सम्बन्ध भएको र उसको बच्चाको आमा बन्न लागेको जानकारी दिनेशलाई गराइन्।  
 
यो घटनाले दिनेश खङ्रङ्ग भए। उनी र निकिताको २०१२ मा पारपाचुके भयो। निकिता मुरलीको घरमा बस्न थालिन्। यस अवधिमा मुरलीले आइपीएलमा चेन्नईका लागि उत्कृष्ट प्रदर्शन गरे। भारतीय टिममा उनको छनोट भयो। तर, दिनेशको प्रदर्शन दिनप्रति दिन खस्कँदै गयो। उनी टिमबाट निकालिए। खराब फर्मका कारण तमिलनाडुको कप्तानीबाट पनि हात धुनु पर्यो। उनको ठाउँमा कप्तानीको जिम्मेवारी मुरली विजयले नै पाए। यो घटनाबाट दिनेश यति प्रभावित भए, उनी डिप्रेशनमा पुगे। यतिबेला उनलाई आत्महत्या गर्ने सोच पलाएको थियो। आइपीएलमा पनि उनले खासै कमाल देखाउन सकिरहेका थिएनन्। 

डिप्रेसनका कारण उनले ट्रेनिङसमेत छाडेका थिए। जिम जान बन्द गरे। तर, उनको ट्रेनरलाई यो कुराले विचलित तुल्यायो। उनी दिनेशलाई सम्झाउन हरेक दिन घर जान्थे। यतिबेला दिनेश देवदास जस्तै दाह्री पालेर घरको कोठाको एउटा कुनामा टोलाएर बसेका हुन्थे। लामो प्रयासपछि दिनेशका ट्रेनर उनलाई सम्झाउन सफल भए। दिनेशले फेरि जिम ज्वाइन गरे। जिम मै दिनेशको भेट दिपिका पल्लीकल नाम गरेकी अर्की युवतीसँग भयो। 

वास्तवमा दिनेशको क्रिकेटको दोस्रो इनिङ यहीबाट सुरु भयो। जिममा भएको साधारण परिचयले पछि सम्बन्धको आकार ग्रहण गर्यो। उनीहरू राम्रो साथी बने। दिनेश पुनः नेट्समा क्रिकेट अभ्यास गर्न थाले। घरेलु क्रिकेटमा रन बनाउन पनि थाले। दिपिकाले पल–पलमा उनलाई साथ दिइन्। एकपल्ट फेरि उनी टिम इन्डियाका लागि छनोट भए। लगत्तै उनले २०१५ मा दिपिकासँग बिहे गरे। दिपिकाले गत वर्ष जुम्ल्याहा छोरालाई जन्म दिएकी छिन्। 

दिपिकासँगको बिहेपछि ट्रयाकमा फर्किएका दिनेशको जीवन यतिबेला खुसीले भरिएको छ। बिहेको केही वर्षमै उनी आइपीएलमा कोलकाता टिमका लागि कप्तान नियुक्त भए। उनले केही वर्ष खेल्न छोडेर कमेन्ट्री पनि गरे। 

दिनेशको धेरै अगाडिको सपना थियो, चेन्नईको महंगो वस्ती पोएस गार्डेनमा एउटा भब्य घर किन्ने। दिपिकाले यतिबेला दिनेशलाई एउटा सुझाव दिएकी थिइन्– ‘किन हामी दुवै आफ्नो खेलमा एकाग्र नहुने। जसले गर्दा घर किन्न सजिलो होस्।’

दिपिका पनि स्क्वास खेलाडी हुन्। यी दुवैले आफ्नो खेलमा ध्यान दिए। अहिले यो जोडीको घर पोएस गार्डेनमा छ। आइपीएल–२०२२ को सिजनमा दिनेशले ७ खेलमा २१० को औसतले २१० रन बनाइसकेका छन्। यसपालिको अक्सनमा पनि चेन्नईले लगातार कार्तिकका लागि बोली लगायो। तर, बाजी बेङ्लुरुले मार्यो। उनका लागि यसपालि ५ करोड ५० लाखको बोली लागेको थियो। 

दिपिकाले पनि ग्लास्कोमा भएको विश्व च्याम्पियनसिपमा जोसना चिनप्पासँग मिलेर महिला डबल्स र सौरभ घोषालसँग मिलेर मिक्स डबल्सको उपाधि जितिन्। दिनेश कार्तिकको फर्किएको फर्म देखेर उनलाई यस वर्ष आयोजना हुने टि–२० विश्व कपका लागि भारतीय टिममा स्थान दिने चर्चा चुलिएको छ। एजेन्सी

प्रतिक्रिया