श्रीलंकाको आर्थिक संकटमा भारतका चिया व्यापारीका लागि अवसर?

काठमाडौं– विश्व चिया बजारमा श्रीलंका ठूलो खेलाडी भए पनि जसरी आर्थिक संकट गहिरिँदै गएको छ, त्यसबाट भारतीय निर्यातकर्ताले फाइदा लिन सक्ने भारतको चिया उद्योगसँग सम्बन्धित व्यक्तिहरू बताउँछन्।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार श्रीलंकामा यस वर्ष चियाको उत्पादन र बाहिर पठाइएको शिपमेन्टमा ठूलो गिरावट आउन सक्छ।

रेटिङ एजेन्सी इक्रा लिमिटेडका उपाध्यक्ष कौशिक दासका अनुसार श्रीलंकामा बर्सेनि करिब ३० करोड किलोग्राम चिया उत्पादन हुने गरेको छ। यसले आफ्नो वार्षिक उत्पादनको ९७ देखि ९८ प्रतिशत अन्य देशलाई बिक्री गर्छ।

परम्परागत चियाको विश्वव्यापी व्यापारमा श्रीलंकाको हिस्सा हाल ५० प्रतिशतको हाराहारीमा छ। श्रीलंकाको चिया इराक, इरान, संयुक्त अरब इमिरेट्स, लिबिया, रुस र टर्कीमा पठाइन्छ।

कौशिक दास श्रीलंकाको चिया उत्पादनमा आएको गिरावटले विश्व बजारमा ठूलो असर पर्ने र त्यसको पूर्ति गर्ने अवसर भारतीय निर्यातकर्तालाई रहेको बताउँछन्। दक्षिण भारतका चिया निर्यातकर्ता संघका अध्यक्ष दीपक शाह हालै कोलम्बोको भ्रमणबाट फर्किएका छन्।

देशको आर्थिक अवस्था खस्किदै गएपछि चिया उद्योगलाई पनि काम चलाउन समस्या भएको उनी बताउँछन्।

दीपकले समाचार एजेन्सी पीटीआईलाई भने, ‘श्रीलंकाका लगभग सबै चिया कारखानाहरू १२ देखि १३ घण्टासम्म विद्युत कटौतीको सामना गरिरहेका छन्। जेनेरेटरहरू चलाउन पर्याप्त इन्धन छैन। उत्पादनमा अवरोधका कारण सामान्यतया गुणस्तर खराब हुन्छ। यसबाहेक कम पानी परेको छ, छिमेकी मुलुकमा २० देखि २५ प्रतिशतसम्म उत्पादन घट्न सक्छ।’

यस्तो अवस्थामा भारतीय निर्यातकर्ताका लागि राम्रो समय आउन लागेको पनि उनको विश्वास छ। विशेषगरी रुपैयाँ–रुबलको व्यवस्थाले रुससँगको व्यापारमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया