नेपाल एयरलाइन्सको लापरबाही, ४ दिनदेखि बैंककमा डेढ सय यात्रु अलपत्र

काठमाडौं– नेपाल एयरलाइन्सको चरम लापरबाहीका कारण थाइल्याण्डको राजधानी बैंककबाट देश फर्किन लागेका करिब डेढ सय नेपाली ४ दिनदेखि अलपत्र परेका छन्।
 
उनीहरू गत शुक्रबारदेखि बैंकक अन्तर्राष्ट्रिय विमानस्थल सूवर्णभूमि नजिकै चोरछेर होटलमा बस्न बाध्य छन्। नेपाली यात्रुसँगै १० जनाभन्दा बढी विदेशी पर्यटक रहेको नेपाली यात्रुहरूले दृश्यटिभीलाई जानकारी दिए। 

गत शुक्रबार थाइ समयअनुसार ४ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको आरए–४०२ विमानबाट घर फर्किन लागेका थिए। बोडिङ पास बोकेर विमानमा प्रवेश गरिसकेका यात्रुहरू ३ घण्टापछि विमानबाट ओर्लिन बाध्य भएका थिए। रनवेमा दौडिसकेको विमानको चक्का फुटेपछि विमान ‘ग्राउण्डेड’ भएको थियो। 

यात्रुहरूलाई २ बजे राती होटल पुर्याइएको थियो। यसपछि विमानका पदाधिकारी सम्पर्कमा नभएको यात्रुहरूले गुनासो गरे। ‘आज उद्धार गर्ने भनेका छन्, हेरौं के हुन्छ,’ घर फर्किन लागेका नेपाली यात्रुहरूले दृश्यटिभीलाई जानकारी दिए। 

काठमाडौंबाट बैंककका लागि नेपाल एयरलाइन्सले शुक्रबार र सोमबार गरी सातामा दुई दिन नियमित उडान गरिरहेको छ। आज सोमबार भएको हुनाले अर्को विमान बैंकक पुग्ने र त्यही विमानले उद्धार गर्ने आश्वासन पाएको उनीहरूले बताएका छन्। 

‘कर्मचारीको अनुहार र कुनै फोन वा म्यासेस पाएका छैनौं। होटलको रिसेप्सनबाट १ बजे तयार भएर बस्नु भनेका छन्,’ उनीहरूले भने, ‘हिजो–अस्ति पनि यस्तै भन्थे। तर, उड्न पाएको होइन। जिम्मेवार व्यक्तिले अगाडि उभिएर समस्या बताए भइहाल्थ्यो नि।’

प्रतिक्रिया