घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टी२० आई सिरिज जित्ने लक्ष्यमा नेपाल

काठमाडौं– घरेलु टोली नेपालले त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा आज सोमबार पपुवा न्यू गिनीसँग खेल्दैछ। खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरु हुनेछ। नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टी२० आई सिरिज जित्ने लक्ष्यमा छ। 

गत वर्ष मलेसिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक टी२० आई सिरिजको उपाधि पनि नेपालले जितेको थियो। नेपालले लिग चरणका चार खेलमा जित हात पारेको थियो।

यसपटक पनि नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ।  पपुवा न्यू गिनी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि जित्ने सोचमा हुनेछ। पपुवा न्यू गिनी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेट रनरेटले पछि पार्दै फाइनलमा पुगेको थियो।

नेपाललाई घरेलु मैदान र समर्थकले गर्दा थप फाइदा हुनेछ। कप्तान सन्दीप लामिछानेले पनि घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो शतप्रतिशत दिएर खेल्ने बताएका छन्। सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा उपाधिको लागि खेल्न लागेको हो।

‘फाइनल खेल निकै नै महत्वूर्ण छ। हामी उपाधि जित्न आफ्नो शतप्रतिशत दिएर खेल्छौं,’ फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले भने,’सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौं।’

नेपालले पपुवा न्यू गिनीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो। मलेसियासँग पहिलो खेलमा १५ रनले स्तब्ध बनेको पपुवा न्यू गिनीले दोस्रो खेलमा ८ विकेटको सानदार जितका साथ फाइनलमा स्थान बनाएको हो।

नेपालले पछिल्ला दुई इनिङ्समा २ सय माथिको योगफल बनाएको छ। दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल ब्याटिङमा उच्च लयमा छन्। दीपेन्द्रले पछिल्लो खेलमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ्स खेलेका थिए।

रोहितले पनि तेस्रो नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। फाइनलमा उच्च लयमा रहेका यी दुई ब्याटरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ।

युवा स्टार आदिल अन्सारीले तल्लोक्रममा विष्फोटक अन्त्य गर्दै आएका छन्। ओपनर आसिफ शेख र कुशल भुर्तेल भने ठूलो इनिङ्स खेल्नबाट चुक्दै आएका छन्। फायनल खेलमा नेपालले यी दुई खेलाडीबाट ठूलो आश राखेको छ।

यता, मलेसियासँग विश्राम दिएका सोमपाल कामी टोलीमा फर्किनेछन्। तीव्र गतिका बलरमा करण केसी, सोमपाल र अभिनाश बोहरा हुनेछन्।

करणले पपुवा न्यू गिनीविरुद्ध दोस्रो खेलमा ह्याट्रिक सहित ५ विकेट लिँदै नेपालको जित सहज बनाएका थिए। स्पिनरमा सन्दीप लामिछालाई दीपेन्द्रले साथ दिनेछन्।
 

प्रतिक्रिया