आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पन्जाब ५४ रनले विजयी

काठमाडौं– पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा चेन्नई सुपर किंग्सको यो लगातार तेस्रो हार हो।

१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा १ सय २६ रनमा समेटियो। चेन्नईका शिवम दुबेले ३० बलमा सर्वाधिक ५७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ बलमा २३ रन जोडे। अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्।

पन्जाबका स्पिनर राहुल चाहरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। त्यसैगरी, आरोराले २, कागिसो रबाडा, अर्शदीपसिंह र ओडेन स्मिथले १–१ विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। पन्जाबका लियाम लिभिङस्टोनले ३२ बलमा सर्वाधिक ६० रन बनाउ भने शिखर धवनले २४ बलमा ३३ रन जोडे।

चेन्नईका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए भने ड्वेन प्रिटोरियसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए। त्यसैगरी, मुकेश चौधरी, ड्वेन ब्राभो र रविन्द्र जडेजाले १–१ विकेट लिए।

पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको थियो। पन्जाबले अव शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ। 

चेन्नई भने पहिलो खेलमा कोलकाता र दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग समान ६–६ विकेटले पराजित भएको थियो । अब शनिबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।

प्रतिक्रिया