आईपीएल : नवप्रवेशी लखनऊद्वारा चेन्नई पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सले  चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ। डेब्यू प्रतियोगिता खेलिरहेको लखनऊले चार पटकको च्याम्पियन चेन्नईलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो।

२ सय ११ रनको विशाल लक्ष्य लखनऊले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लखनऊको जितमा एविन लेविसले २३ बलमा अविजित ५५ रन बनाए भने आयुष बदोनीले ९ बलमा १९ रन जोडे। ओपनर क्विन्टन डि ककले ४५ बलमा ६१ रन बनाउँदा लोकेश राहुलले २६ बलमा ४० रन बनाए। 

चेन्नईका ड्वेन प्रिटोरियसले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए भने तुषार देशपान्डेले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए। ड्वेन ब्राभोले १ विकेट लिए।

ब्रेबोर्नमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। चेन्नईका ओपनर रोबिन उथप्पाले २७ बलमा सर्वाधिक ५० रनको योगदान दिए। शिवम दुबेले ३० बलमा ४९ रन बनाएका थिए।

ओपनर ऋतुराज गायकवाड १ रनमा आउट हुँदा मोइन अलीले २२ बलमा ३५ रन जोडे। अम्बाति रायुडूले २० बलमा २७ रन जोडे भने रविन्द्र जडेजाले ९ बलमा १७ रनमा आउट भए।  ६ बल खेलेका महेन्द्रसिंह धोनी १७ रनमा अविजित रहे। 

लखनऊका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिँदा आवेश खानले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। 

पहिलो खेलमा चेन्नई कोलकातासँग ६ विकेटले पराजित भएको थियो भने लखनऊ गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो। चेन्नईले अव आइतबार पन्जाब किंग्ससँग खेल्नेछ भने लखनऊले सोमबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।

प्रतिक्रिया