आईपीएल : बैंग्लोरसँग कोलकाता पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो।

१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने  शहबाद अहमदले २७ रन जोडे। 

कोलकाताका टिम साउथीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए भने उमेश यादवले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सुनिल नारायण र बरुण चक्रवर्तीको नाममा १–१ विकेट रह्यो।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा समेटिएको थियो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए। अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। 

वानिन्दु हसरंगाले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने हर्षल पटेलले ४ ओभरमा २ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए। आकाश दीपले ३ विकेट लिँदा मोहम्मद शिराजको नाममा १ विकेट रह्यो।

बैंग्लोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको थियो। बैंग्लोरले तेस्रो खेलमा मंगलबार राजस्थान रोयल्ससँग खेल्नेछ। 

कोलकाताले भने पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा शुक्रबार पन्जाब किंग्ससँग खेल्नेछ।

आईपीएल : बैंग्लोरद्वारा कोलकाता पराजित

प्रतिक्रिया