त्रिकोणात्मक सिरिज : बलियो देखिएको मलेसियासँग खेल्दै नेपाल

काठमाडौं– अन्तर्राष्ट्रिय टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ।

सिरिजमा घरेलु टोली नेपाल लगातार दोस्रो जितको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा  पपुवा न्यू गिनीलाई १५ रनले हराएको थियो। 

पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ। पहिलो खेलमा कप्तान सन्दीप लामिछानेबाहेक अन्य बलरले सुधारिएको खेल प्रदर्शन गर्न सकेका थिएनन्।

सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए। अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए। तर, तीव्र गतिका बलर करण केसीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए। 

यता, पहिलो खेलमा मलेसियाले पपुवा न्यू गिनीलाई ८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। तालिकामा दुवै टोलीको दुई अंक छ। नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ। ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ।

नेपालले आजको खेलमा मलेसियाका  कप्तान अहमद फाईज र विरन्दिप सिंहलाई विशेष ध्यान दिन जरुरी रहेको छ। उनीहरुले पपुवा न्यू गिनीसँगको खेलमा अर्धशतकीय इनिङ्स खेल्दै जितको आधार तय गरेका थिए।

विरन्दिपले अविजित रहदै सर्वाधिक ५९ रन जोडे। उनले ५२ बलमा २ चौका र २ छक्का प्रहार गरे। यता, ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका अहमद ५६ रनमा आउट भए।

यता, मलेसियाका सायद अजिज पनि राम्रा सर्टहरु प्रहार गर्न सक्ने क्षमता भएको खेलाडीमा गनिन्छन्। उनले २६ बलमा ५ चौका र २ छक्कासहित ४७ प्रहार गरे।

मलेसियाको ब्याटिङसँगै बलिङ पनि उतिकै बलियो रहेको छ। पपुवा न्यू गिनीविरुद्धको खेलमा मलेसियाका लागि शर्भिन मुनियाण्डीले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै, मुहमद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट लिए।

मलेसियाको तुलानामा नेपाली ब्याटरको प्रदर्शन भने खस्किएको छ। ओपनर कुशाल भुर्तेल र आसिफ शेख लामो समयदेखि फर्म छैनन्। सोमबार पपुवा न्यू गिनीसँग भएको खेलमा कुशलले २० रन प्रहार गरेका थिए। यस्तै,  आसिफले ४३ रन बनाएका थिए।

यता, मध्यक्रममा रोहितकुमार पौडेलबाट नेपालले ठूलो आशा व्यक्त गरेको छ। ओडिआईमा उत्कृष्ट प्रदर्शन गरेकै आधारमा उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले टी२० टोलीमा पनि समेटेको थियो। 

पूर्वकप्तान ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा नेपालको मध्यक्रम खुकुलो भएको छ।अनुभवी ब्याटर भएका कारण पछिल्लो खेलमा पनि उनको अभाव खड्किने महसुस गरिएको थियो। तर, रोहितले ३५ रन बनाउँदै आफ्नो उपस्थिति बलियो रुपमा जनाएका थिए।

रोहित पछि दीपेन्द्रसिंह ऐरीको लय भने निरासाजनक रहेको छ। युएई भ्रमणदेखि खस्किएको उनको प्रदर्शनमा कुनै सुधार आउन सकेो छैन। यस्तै तल्लो क्रमममा पनि नेपाल कमजोर रहेको छ। युवा खेलाडी कुशाल मल्ल र लोकेश बम चल्न सकेका छैन। उनीहरुलाई आजको खेलमा सम्भवत: बेञ्चमा राखिने छ।


 

प्रतिक्रिया