क्यानडा ३६ वर्षपछि दोस्रो पटक विश्वकपमा छनोट

काठमाडौं– क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको छ। विएमओ फिल्ड क्यानडामा आइतबार राति भएको खेलमा जमैकामाथि ४–० को सानदार जित निकाल्दै क्यानडा यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको हो।

क्यानडा यसअघि कोन्काफ क्षेत्रबाट सन् १९८६ को विश्वकपमा छनोट भएको थियो। उक्त विश्वकपमा क्यानडाले समूह चरण पार गर्न सकेको थिएन।

आइतबारको खेलमा घरेलु टोलीलाई जित दिलाउन सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल उपहार पाएको थियो।

एकपक्षीय बनेको खेलको १३औं मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाएका थिए। ४४औं मिनेटमा टाजोनले गोल गर्दै क्यानडाको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २ गोल गरेको क्यानडाले दोस्रो हाफमा पनि २ गोल थपेको थियो। खेलको ८३औं मिनेटमा जुनियर होइलेटले गोल गर्दै क्यानडालाई ३–० सहज जिततर्फ अग्रसर गराए। 

८८औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले ४–० सानदार जित निकाल्न सफल भयो। जितसँगै अंक तालिकाको शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ। क्यानडा एक खेल बाँकी छँदै दोस्रो पटक विश्वकपमा छनोट भइसकेको छ।

पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ। यो क्षेत्रबाट तीन टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछ। एक टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।

प्रतिक्रिया