आईपीएल : दिल्ली र पञ्जाबको विजयी सुरुआत

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं सिजनमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सले विजयी सुरुआत गरेका छन्। आइतबार भएको खेलमा सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले विजयी सुरुआत गरेको हो। मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

दिल्लीको जितमा ललित यादवले अविजित ४८ रन बनाए भने अक्षर पटेलले अविजित ३८ रन जोडे। त्यसैगरी, पृथ्वी शले ३८ रन जोड्दा शार्दुल ठाकुरले २२ रन बनाए।मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।मुम्बईका इशान किशनले अविजित ८१ रनको पारी खेले। कप्तान रोहित शर्माले ४१ रन जोड्दा तिलक वर्माले २२ रन जोडे। टिम डाभिड १२ रनमा आउट भए।

दिल्लीका कुलदिप यादवले ३ तथा खलिल अहमेदले २ विकेट लिए। जितसँगै दिल्लीले पहिलो खेलमा २ अंक जोडेको छ।

पञ्जाबको ५ विकेटको जित
अर्को खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले पराजित गरेको छ। बैंग्लोरले दिएको २०५ रनको विशाल स्कोर पछ्याएको पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाएको थियो।  

पञ्जाबका लागि शिखर धवन र भानुका राजपक्षेले सर्वाधिक ४३–४३ रन बनाए। मयङ्क अग्रवालले ३२, शाहरुख खानले २४ र लियाम लिविंगस्टोनले १९ रन बनाए। अन्तमा ओडेन स्मिथले ८ बलमा २५ रन बनाएर एक ओभर अगावै खेल पञ्जाबको पोल्टामा पुर्याए।

बलिङमा रोयल च्यालेन्जर्सका लागि मोहम्मद सिराजले उत्कृष्ट प्रदर्शन गरे। तर, उनले ४ ओभरमा ५९ रन दिएर २ विकेट लिए। उनका अलावा आकाशदीप, हसरङ्गा र हर्षल पटेलले एक/एक विकेट लिए।

त्यसअघि रोयल च्यालेन्जर्सका नयाँ कप्तानी फाफ डु प्लेसिसको शानदार इनिङ्सको मद्दतले बैंगलोरले दुई विकेट गुमाएर २०५ रन बनाएको थियो।

डु प्लेसिसले ५७ बलमा ८८ रन बनाए। यता, विराट कोहलीले ४१ र दिनेश कार्तिकले १४ बलमा ३२ रन बनाए। अनुज रावतले पनि २१ रनको योगदान दिए।पञ्जाबका राहुल चाहार र अर्शदीप सिंहले एक/एक विकेट लिए।

प्रतिक्रिया