आईपीएल : कोलकातासँग चेन्नई ६ विकेटले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं सिजनको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। शनिबार भएको खेलमा चेन्नईले दिएको १३२ रनको सामान्य लक्ष्य कोलकाताले १८.३ ओभरमा १३३ रन बनाएर पूरा गरेको हो।

कोलकाताका लागि अजिंक्य रहाणेले ३४ बलमा सर्वाधिक ४४ रन बनाए। यता, साम बिलिङ्सले २२ बलमा २५ रन र नितिश राणाले १७ बलमा २१ रन बनाए।चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए। 

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा १३१ रन बनाएको थियो। चेन्नई सुरुआत निकै खराब रह्यो। ओपनर ऋतुराज गायकवाड पहिलो ओभरमा शून्य रनमा आउट भए।

कोलकाताका बलरहरूले सुरुदेखि नै चेन्नाइका ब्याटरलाई दबाबमा राखेका थिए। चेन्नईको दोस्रो विकेट २८ रनमा खसेको थियो। डेभोन कोनवे ८ बलमा ३ रन बनाएर आउट भए।

तेस्रो नम्बरमा आएका रोबिन उथप्पाले आक्रमक खेल खेल्दै स्कोर अगाडि बढाए। तर उनले पनि २८ रनको व्यक्तिगत स्कोरमा विकेट गुमाए।

उनीपछि आएका अम्बाती रायुडु १५ रन बनाएर आउट भए। चेन्नईको पहिलो चार विकेट ५२ रनको स्कोरमा खसेको थियो। छैटौं नम्बरमा आएका शिवम दुबे तीन रन बनाएर आउट भए। एक समय चेन्नईको स्कोर १०.५ ओभरमा ५ विकेट गुमाएर ६१ रन थियो।

चेन्नईका नयाँ कप्तान रवीन्द्र जडेजा र हालै कप्तानी छोडेका महेन्द्र सिंह धोनीले सातौं विकेटका लागि ७० रनको अविजित साझेदारी गरे। धोनी ३८ बलमा ५० रन बनाएर अविजित रहे। जडेलाले २८ बलमा २६ रन बनाए। आईपीएलमा धोनीको यो दुई वर्षपछि पहिलो अर्धशतक हो।

धोनी र कप्तान जडेजाले अन्तिम तीन ओभरमा ४१ रन बनाएका थिए। इनिङ्सको अन्तिम ओभरमा १८ रन बनेको थियो।

कोलकतका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए। जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ।
 

प्रतिक्रिया