मस्कोले अतिक्रमणबाट चाहेको भन्दा विपरीत अवस्था पाइरहेको छ : वाइडेन

काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रुरको संज्ञा दिँदै मस्कोले अतिक्रमणबाट चाहेको भन्दा विपरीत अवस्था पाइरहेको बताएका छन्।

बसेल्समा भएको नेटो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति वाइडेनले युक्रेन र रुसबीच भइरहेको वार्ताका सम्बन्धमा टिप्पणी गर्दै कस्तो निर्णय लिने भन्ने अधिकार किएभसँग रहेको बताए।

रुसले युक्रेनी भूमिमा आफू समर्थित पृथकतावादीले गरेको कब्जालाई आधिकारिकता प्रदान गर्न र छुट्टीन चाहेका क्षेत्रको स्वतन्त्रता स्वीकार गर्न माग गरेको छ। तर, युक्रेनले आफ्नो भूमि कुनै पनि हालतमा नदिने बताउँदै आएको छ।

सम्बोधनकै क्रममा उनले युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध पश्चिमा सैन्य गठबन्धन एकढिक्का रहेको बताए। ‘नेटो इतिहासमै सबैभन्दा बलियो रुपमा एकतावद्ध रहेको छ। युक्रेनलाई गरिरहेको हालको रक्षात्मक तथा मानवीय सहयोगका लागि मात्रै नभएर युद्धले गरेको विनाशबाट उठ्नका लागि पनि एकीकृत सहयोग कायम राख्नेछौं,’ उनले भने।

वाइडेनलले युक्रेनका लागि दुई अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा पनि गरेका छन्। यस्तै, युद्धबाट प्रभावित भएका युक्रेनीहरुका लागि एक अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयोग गर्ने पनि घोषणा गरेका छन्।

वाइडेनले रुसलाई जी–२० समूहबाट हटाउनु पर्ने पनि बताए। उनले युक्रेन जी–२० बैठकमा सामेल हुन पाउनु पर्ने माग गरे। यता, रुसविरुद्ध आर्थिक प्रतिबन्धमा समन्वय गर्नुका साथै अमेरिका र ईयूले ऊर्जा आपूर्तिमा सहयोग वृद्धि गर्ने अनि विश्वव्यापी खाद्य सुरक्षा सुधार्न योजना बनाउने सहमति गरेका छन्।

प्रतिक्रिया